कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले देश र जनताको मुक्तिका लागि सहादत प्राप्त गर्नु हुने किसान नेता भीमदत्त पन्तले देखाउनु भएको बाटो पहिल्याउनुपर्ने बताउनुभयो ।
भीमदत्त पन्तको ६७आँै स्मृति दिवसका अवसरमा कञ्चनपुरको भीमदत्त नगरस्थित भीम बाटीकामा आज आयोजित कार्यक्रममा उहाँले शहीद भीमदत्त पन्तले गरिब र शोषित, पीडित वर्गको मुक्तिका लागि आवाज बुलन्द गर्दा बलिदानी दिनुपरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “शहीद पन्तले देखाएको मार्गमा पहिल्याउँदै सुदूरपश्चिम प्रदेश सरकारले कार्य अगाडि बढाउँदै आएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्गका लागि कार्यक्रम अघि सारेका छौँ ।”
सो अवसरमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले किसान नेता भीमदत्तको विचारलाई आत्मसात गरे देश आर्थिक सामाजिक रुपमा आत्मनिर्भर बन्ने बताउनुभयो ।
नगरपालिकाले नेता पन्तकै स्मृतिमा उहाँले ठालुहरुलाई कारवाही गरेको ब्रम्हदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गरिन लागेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले नेता पन्तले देखाएको सपना अझै पूरा हुन नसकेको बताउनुभयो ।