जनादेश वाच ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजी भएका छन्। आज विहान सकिएको मतगणनाअनुसार राप्राको अध्यक्ष पदमा लिङ्देन विजयी भएका हुन्। पराजित कमल थापाले हार स्वीकार गर्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्।
कमल थापाले बधाई दिने क्रममा राजदरबारप्रति आक्रोश व्यक्त गरेका छन् । पराजय सहर्ष स्विकार गर्दछु भन्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिएका थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।
उनले भनेका छन्, “मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।”
लिङ्देनलाई पूर्व राजा ज्ञानेन्द्रको साथ रहेको बताइएको थियो । त्यसप्रति थापाले असन्तुष्टि जनाएका हुन् ।
कसरी जिते लिङ्देनले
अध्यक्ष जितेका राजेन्द्र लिङ्देन र महामन्त्रीका उमेदवार धवलशमशेर जबरा अध्यक्षत्रयको हातमा पार्टी गएपछि इतिहासमा सीमित हुने बुझाइमा थिए। उनीहरुलाई अवसरवादी नेतृत्वले पार्टी सखाफ पार्ने भय थियो । पार्टी एकता भएपश्चात् जागेको आशा पनि निराशामा बदलिन पुगेको बुझाइ थियो।
त्यो कुरा उनीहरूले महाधिवेशनका प्रतिनिधिले राम्रै बुझाउन सके । अध्यक्ष बन्ने बेला लिङ्देनले यसरीनै अघि बढे पार्टी गोरखा परिषद वा प्रजा परिषदको बाटोमा अघि बढ्ने बताउँदै आएका थिए । एकता पश्चात् पार्टी जनताको आशा भरोसाको केन्द्र बन्छ भन्ने आश गरिएपनि नेताहरु परिवर्तन नभएको उनको बुझाइ आम कार्यकर्तामा सञ्चार भएको देखिएको छ । योसँगै २० वर्षदेखि राप्रपामा रजगज गर्दै आएका कमल थापाको रजगज समाप्त भएको छ भने राप्रपाले नयाँ नेतृत्व पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज निर्वाचित हुने नयाँ कार्यसमितिलाई दिउँसो १ बजे प्रमाणपत्र प्रदान गरिने छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले दिउँसो १ बजे निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रज्ञा भवनमा जितको प्रमाणपत्र प्रदान गर्न लागेको हो ।