जनादेश टेक वाच ।
हालै ३७ वर्षीय पराग अग्रवाल ट्विटरका सीईओ नियुक्त भए। उनको नियुक्तिसँगै अमेरिकी कम्पनीमा भारतीय जनशक्तिको योगदानबारे चर्चा चुलियो। किनभने सिलिकन भ्यालीमा अवस्थित विश्वका सबैभन्दा प्रभावशाली मानिने कम्तीमा एक दर्जन कम्पनी भारतीय मूलका व्यक्तिहरुले हाँकिरहेका छन्।
माइक्रोसफ्टका सत्या नडेला, अल्फाबेटका सुन्दर पिचाइदेखि लिएर आईबीएम, एडोब, पालो आल्टो नेटवर्क, भीएमवेयर, भिमियोसम्मका कम्पनीका हाकिम भारतीय मूलकै छन्।
अमेरिकाको जनसंख्याको जम्मा एक प्रतिशत हिस्सा मात्रै भारतीय मूलका मानिसहरुले ओगटेका छन्। सिलिकन भ्यालीमा काम गर्नेहरुमध्ये पनि ६ प्रतिशत मात्रै छन् भारतीय मूलका। तर, तिनै कम्पनीका शीर्ष पदमा यति धेरै भारतीय पुग्न सफल भएका छन्।
किन त?
‘भारतले जसरी विश्वको कुनै पनि देशले यति ठूलो संख्यामा आफ्ना नागरिकलाई यति सघन तालिम दिँदैन,’ टाटा सन्स कम्पनीका पूर्वकार्यकारी निर्देशक तथा ‘द मेड इन इन्डिया म्यानेजर’ पुस्तकका सहलेखक आर गोपालकृष्णन भन्छन्।
भारतका प्रसिद्ध कर्पोरेट रणनीतिकार सी के प्रह्लादलाई उधृद गर्दै गोपालकृष्णन थप्छन्ः ‘जन्मदर्तादेखि मृत्युको प्रमाणपत्रसम्म, स्कुलमा भर्नादेखि जागिर प्राप्तिसम्म, अपर्याप्त पूर्वाधारदेखि कमजोर क्षमतासम्मका कारण भारतले आफ्ना नागरिकलाई हुर्किंदैखेरि प्राकृतिक रुपमै म्यानेजर बनाउँछ।’
अर्को शब्दमा भन्दा कडा प्रतिस्पर्धा र चारैतिर व्याप्त भद्रगोलले भारतीयहरुलाई समस्या समाधानको सीप सिकाउँछ। त्यसमाथि उनीहरु व्यक्तिगत जीवनभन्दा व्यावसायिक जीवनलाई प्राथमिकता दिने गर्छन्। यसले ज्यादा काम गर्ने अमेरिकी संस्कृतिमा उनीहरुलाई थप सघाउ पुर्याउँछ।
‘विश्वका जुनसुकै ठाउँका अगुवाहरुमा पनि यिनै गुण हुन्छन्,’ गोपालकृष्णन भन्छन्। माइक्रोसफ्टको सीईओ नियुक्त भएको सात वर्षपछि भारतीय मूलका सत्या नडेला यही वर्ष सो कम्पनीको अध्यक्ष बनेका छन्
भारतीय मूलका अमेरिकी नागरिकहरुको संख्या करिब ४० लाख छ। यो अल्पसंख्यक समूह अमेरिकाको सबैभन्दा धनी र सबैभन्दा शिक्षितमध्येमा पर्छ।
ती ४० लाखमध्ये करिब १० लाख त वैज्ञानिक र इन्जिनियर नै छन्। अमेरिकाले दिने एच–१बी भिसा (विदेशीहरुका लागि वर्क परमिट) मध्ये ७० प्रतिशत भारतीय सफ्टवेयर इन्जिनियरलाई नै जान्छ। सियाटलजस्ता सहरमा रहेका विदेशमा जन्मेका सम्पूर्ण इन्जिनियरमध्ये ४० प्रतिशत भारतीय छन्।
‘१९६० को दशकमा अमेरिकाको आप्रवासी नीतिमा गरिएको विशाल परिवर्तनको नतिजा हो यो,’ दि अदर वान पर्सेन्टः इन्डियन्स इन अमेरिका पुस्तकमा लेखकहरुले लेखेका छन्।
नागरिक अधिकारसम्बन्धी आन्दोलनलगत्तै राष्ट्रियता र उत्पत्तिका आधारमा दिइने कोटाको स्थानमा सीप र पारिवारिक एकीकरणलाई प्राथमिकता दिन थालियो। त्यसलगत्तै उच्च शिक्षा लिएका भारतीयहरु अमेरिका आउन थाले। सुरुमा वैज्ञानिक, इन्जिनियर र डाक्टर अनि त्यसपछि ठूलो संख्यामा सफ्टवेयर प्रोगामरहरु आउन थाले।
भारतीय आप्रवासीहरुको यो समूह अरु कुनै पनि आप्रवासी समूहभन्दा अलग रहेको सो पुस्तकका लेखकहरुको भनाइ छ। उनीहरुका अनुसार तेहेरो छनोट पार गरेर उनीहरु अमेरिका पुगेका हुन्।
पहिलो, ती उच्च जातीय भारतीय हुन् जो प्रसिद्ध कलेजमा पढ्न सक्थे। दोस्रो, ती अमेरिकामा स्नातकोत्तर अध्ययनको खर्च जुटाउन सक्ने सानो समूहमा पर्थे। सिलिकन भ्यालीका धेरै सीईओ यही समूहका हुन्। र, तेस्रो, भिसा प्रणाली, जसले अमेरिकाको ‘उच्चस्तरीय श्रम बजारको आवश्यकता सम्बोधन गर्न’ विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितजस्ता विषयमा खास सीप भएकालाई मात्र भित्र्यायो।
‘यी सर्वोत्कृष्ट हुन् र उनीहरु त्यस्ता कम्पनीमा प्रवेश गरिरहेका छन्, जहाँ सर्वोत्कृष्टहरु शीर्षमा पुग्छन्,’ प्रविधि उद्यमी विवेक वाध्वा भन्छन्, ‘तिनले सिलिकन भ्यालीमा बनाएको सञ्जालले पनि उनीहरुलाई फाइदा पुगेको छ। उनीहरु एकअर्कालाई सघाउँछन्।’
वाध्वाका अनुसार भारतमा जन्मेका धेरै सीईओहरु सानो पदमा प्रवेश गरेर माथि पुगेका हुन्। जसका कारण उनीहरुमा विनम्रता हुन्छ। जुन संस्थापक–सीईओहरुमा हुँदैन। र, संस्थापक सीईओहरुलाई प्रायः घमण्डी र व्यवस्थापनमा आफ्नै कुरा मात्रै लाद्न खोज्ने भन्ने आरोप लाग्ने गर्छ।
यतिबेला ‘बिग टेक’ भनिने सिलिकन भ्यालीका कम्पनीहरुको प्रतिष्ठा गिरेको छ। उनीहरुलाई बारम्बार संसदीय सुनुवाइमा बोलाइने गरिन्छ। विदेशी सरकारहरुसँग पनि ती कम्पनीको टकराव पर्ने गरेको छ। त्यसभन्दा बढी, सिलिकन भ्यालीका धनीमानी र बाँकी अमेरिकाबीचको खाडल चौडा हुँदै गएको छ।
यस्तो परिस्थितिमा नडेला, पिचाइजस्ता व्यक्तिहरुले निश्चित हदसम्म होसियारी, सोचविचार र ‘नरम’ संस्कृति भित्र्याउने हुनाले उनीहरु सर्वोच्च पदका सबैभन्दा उत्तम उम्मेदवार बन्ने वाध्वा बताउँछन्।
‘उनीहरुको आत्मनियन्त्रित, शिष्ट र विनम्र नेतृत्व उनीहरुको निकै ठूलो दौलत हो,’ ब्लुमबर्ग न्युजमा भारतीय प्रविधि उद्योगमा कलम चलाउने सरिता राई भन्छिन्।
‘भारतको मिश्रित समाजमा धेरैथरीका रीतिरिवाज र भाषा छन्। त्यसले भारतमा जन्मेका म्यानेजरहरुलाई जटिल परिस्थितिमा पनि अघि बढ्न सक्ने क्षमता दिन्छ,’ भारतीय मूलका अमेरिकी अर्बपति विनोद खोसला भन्छन्।
अमेरिकी कम्पनीमा भारतीय मूलका सीईओ धेरै हुनुका अरु कारण पनि छन्। ज्यादाजसो भारतीयहरु अंग्रेजी बोल्ने हुँदा अमेरिकी प्रविधि उद्योगमा घुलमिल हुन उनीहरुलाई सजिलो हुन्छ।
त्यस्तै भारतीय शिक्षाले गणित र विज्ञान विषयमा जोड दिन्छ। त्यसकारण भारतमा सफ्टवेयर उद्योग फैलिँदो छ। र, उनीहरुको सीप अमेरिकाको इन्जिनियरिङ र म्यानेजमेन्ट कलेजमा पुगेर अझ निखारिन्छ।
‘अर्को शब्दमा भन्दा अमेरिकामा भारतीय मूलका सीईओहरुको सफलता भनेको अमेरिकाको सही आप्रवास नीति, कमसेकम सेप्टेम्बर ११ को हमलाअघि, र भारतको सही शिक्षादीक्षाको नतिजा हो,’ अर्थशास्त्री रुपमा सुब्रमन्या भन्छिन्।
तर, पछिल्लो समय अमेरिकी ग्रिन कार्ड आवेदन स्वीकृतिमा ढिलाइ भइरहेको छ। त्यसमाथि भारतीय बजारमै अवसर सिर्जना भइरहेको छ। जसका कारण विदेशी करिअरप्रतिको आकर्षण घट्दो छ।
‘भारतमै स्टार्ट–अप खोल्ने सपनाले अमेरिकी सपनालाई विस्थापित गर्दैछ,’ राई भन्छिन्।
भारतमा एक अर्ब डलरभन्दा माथिका कम्पनीहरुको संख्या बढिरहँदा सो मुलुकले ठुल्ठूला प्रविधि कम्पनी उत्पादन गर्न थालेको विज्ञहरु बताउँछन्। तर, तिनको विश्वव्यापी प्रभाव कस्तो हुनेछ, अहिले नै भन्न हतार हुने उनीहरुको भनाइ छ।
‘भारतमा भर्खरभर्खर स्टार्ट अप सुरु हुन थालेका हुन्। उद्यम र कार्यकारी पदमा सफल भारतीय ‘रोल मोडल’हरुले धेरैलाई सघाएका छन्। तर, तिनलाई फैलिन समय लाग्छ,’ खोसला भन्छन्।
तर, यस्ता धेरैजसो रोल मोडेलहरु पुरुष मात्र छन्। सिलिकन भ्यालीका भारतीय मूलका सबै सीईओ पुरुष नै हुन्। त्यसैले तिनको तीव्र प्रगतिबाट अझ विविधता बढ्ने आशा गरिहाल्न नसकिने विज्ञहरुको भनाइ छ। ‘प्रविधि उद्योगमा महिलाको प्रतिनिधित्व जति हुनुपर्ने हो, त्यसभन्दा धेरै कम छ,’ राई भन्छिन्।
BBC बाट साभार