जनादेश टेक डेस्क ।
यसअघि स्वीस घडीका मालिक, क्रिस्टोफ ग्रेनरले ग्लोबल ट्रेड शोका लागि चीन जान नपाएपछि स्टार ट्रेक स्टाइलमा आफ्नो आकार जत्रै ‘थ्रीडी होलोग्राम’ मार्फत सबैसँग कुरा गरेका थिए ।
यो ‘फोरके’ रिजोल्युसनमा उपलब्ध हुन्छ र यसमार्फत उनले शारीरिक रुपमा उपस्थिति नजनाएपनि समारोहमा भएका सबैसँग बोल्न, देख्न र कुरा सुन्न पाएका हुन् । यसरी उनले स्वीट्जरल्यान्डमा बसेर शांघाइको कार्यक्रममा आफैँ गए जसरी राम्ररी सहभागी हुन पाए ।
पछिल्लो समय कोरोना महामारीले विश्वव्यापी यात्रा कठिन बन्दै गएको हुँदा यसले होलोग्राम अर्थात ‘थ्रीडी लाइट प्रोजेक्सन’ जसले मान्छेलाई भौतिक रुपमा आफ्नो अगाडि भएजस्तो आभास दिलाउन सक्ने यन्त्रप्रतिको रुची बढाएको छ । त्यसैले यो भिडियोकलको विकल्पका रुपमा अझ बढी सेन्सरी र वास्तविक अनुभवयुक्त विकल्प हुने बताइएको छ ।
लस एन्जलसमा आधारित होलोग्राम निर्माता फर्म, पोर्टल हाल यो प्रविधिमा सबैभन्दा अग्र स्थानमा छ । उनका अनुसार अहिलेको समस्या भनेको पार्टललाई भनेजस्तो तिव्र रुप दिन नसक्नु हो ।
यसको पोर्टल ८ फिट अग्लो, ग्लास फ्रन्टेड र कम्प्युटराइज्ड बक्स हुन्छ । त्यो बक्स भित्रको बुथमा वास्तविक मानव आकारको होलोग्राम देखिनेछ ।
पोर्टलमा बिल्ट–इन स्पिकर हुन्छ । र होलोग्राम मार्फत व्यक्तिले आफू अगाडि भएका सबैले बोलेको सुन्न र देख्न सक्छन् ।
त्यो व्यक्ति पोर्टल मसिनमा दुनियाँको अर्कै कुनाबाट उभिरहेको भएपनि आफूसँग क्यामरा, ‘प्लेन ब्याकड्रप’ र अर्को ‘माइक्रोफोन’ को सेट छ भने पुग्छ । यसमा पोर्टलको सफ्टवेयर प्रणालीले व्यक्तिलाई इन्टरनेट मार्फत कनेक्ट गर्नेछ ।
पोर्टलका मालिक डेभिड नुसबुआम भन्छन्, “यो वास्तवमै मान्छे जस्तो देखिन्छ । अगाडिको सिसा नहुने हो भने होलोग्रामबाट साँच्चै मान्छे बोलिरहेको जस्तो देखिन्छ । सिसामा कुनै लाइट नहुने हुँदा त्यसमा कुनै छायाँ पनि पर्दैन । जसकारण पनि हामी सजिलै झुक्किन सक्छौँ ।
अहिलेका लागि यो पोर्टल सिस्टम व्यवसायिक ग्राहकहरुलाई मात्र लक्षित गरिएको छ । र नेट्फ्लिक्स अनि टी–मोबाइल लगायत कम्पनीले प्रयोग गरिरहेका छन् । एउटा पोर्टलकै ६० हजार डलर पर्ने हुनाले पनि थोरै कम्पनीले मात्र प्रयोग गरिरहेका छन् ।
तर अबको केही वर्षमा चाहिँ अफिसहरु बीच यो नै प्रमुख कुराकानीको माध्यम बन्ने नुसबुआमले बताए ।
माइक्रोसफ्टको होलोग्राम प्रविधि चाहिँ हेडसेटमा आधारित छ । यसमा प्रति युनिटको ३५,०० डलरसम्म पर्ने हुँदा पोर्टलको सिस्टम भन्दा तुलनात्मक रुपमा सस्तो छ । तर यसमा थ्रीडी होलोग्राम वास्तविक जस्तो देखिँदैन ।
यसमा चाहिँ हेडसेट लगाएका दुई व्यक्तिहरुले कुरा गर्दा उनीहरुको कार्टुन जस्तो छवि अगाडि प्रोजेक्ट हुने गर्दछ । यसमा दुवै एउटै ठाउँमा भएजस्तो देखिन्छ । उनीहरु भर्चुअल रुपमा यताउती पनि गर्न सक्छन् ।
यसैगरी लिफ्ट निर्माता र एयरलाइन्सहरुले पनि विभिन्न जटिल कामका लागि होलोग्रामकै प्रयोग गरिरहेका छन् ।
अन्य होलोग्राम फर्म चाहिँ उपभोग्य बजारमा केन्द्रित छन् जस्तै स्यान डिएगोमा रहेको इकिनले अर्को वर्ष नै मोबाइल फोनर्मा हावामा प्रोजेक्ट गर्ने पारदर्शी, थ्रीडी होलोग्राम मार्फत कुरा गर्न मिल्ने सेवा ल्याउने तयारी गरिरहेको छ ।
यसमा भिडियो कल गरिरहेको व्यक्ति फोनबाट बाहिरै आए जस्तो देखिनेछ ।
स्ट्यानफोर्ड युनिभर्सिटीका इन्जिनियर गोर्डन वेट्जेस्टीनका अनुसार होलोग्राम भिडियो कन्फरेन्स भन्दा प्रभावकारी हुन्छ । उनले भने, “यसमा हामीले आँखा जुधाएर कुरा गर्न पनि सक्नेछौँ । र कसले कसलाई केमा हेरिरहेको छ भन्ने समेत थाहा पाइन्छ । ”
तरपनि भविष्यमा प्रविधिको अझ विकास हुँदै गएपछि हामीले होलोग्राम र वास्तविक मान्छे छुट्याउनै सकेनौँ भने त्यो चाहिँ समस्या हुने उनले बताए । किनकी यस मार्फत छल गरेर दुरुपयोग गर्न सकिनेछ ।
तापनि नुसाबुआमका अनुसार होलोग्राम प्रविधिले आगामी पाँच वर्ष भित्रै अहिलेकै भिडियो कन्फरेन्सलाई प्रतिस्थापन गर्नेछ ।
त्यस्तै बिस्तारै व्यवसायहरुले आफ्नो उत्पादन प्रदर्शन गर्नका लागि पनि यसको सर्वत्र प्रयोग गर्न थाल्ने विश्वास रहेको उनले बताए ।
विविसीबाट अनुवादित