जनादेश वेदर ।
मध्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली रही अरु स्थानको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव अहिले नेपालमा रहेको मौसमविदले बताएका छन् । हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
यस्तै राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैबीच देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत मौसमविदले आग्रह गरेका छन् ।