८४ देशमा फैलियो ओमिक्रोन, खोपले काम गर्छ कि गर्दैनः डब्लूएचओको यस्तो सन्देश – Janadesh Daily | ePaper

८४ देशमा फैलियो ओमिक्रोन, खोपले काम गर्छ कि गर्दैनः डब्लूएचओको यस्तो सन्देश


जनादेश हेल्थ डेस्क ।
कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्पी त्रास बढ्दो छ । २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो । ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ । ‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

यस्तो छ बेलायती अध्ययनको निष्कर्ष

यूकेका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्टमा कस्तो प्रभाव पार्छ भनी गरेको विश्लेषणले गम्भीर बिरामी हुनबाट त्यस्तो मात्राले लगभग ८५ प्रतिशतसम्म जोगाउने देखाएको बताएका छन्। यस्तो सुरक्षा कोरोनाभाइरसका पहिलेका भेरिअन्टका तुलनामा केही कम हो। तर यसको अर्थ के हो भने थप मात्रा खोपले अझै पनि कैयौँ मानिसहरूलाई अस्पतालसम्म पुग्नुपर्ने अवस्थाबाट रोक्नेछ।

बिहीवार यूकेमा हालसम्मकै उच्च ८६१,३०६ मात्रा बूस्टर र तेस्रो मात्रा खोप दिइएकै बेला उक्त कुरा बाहिर आएको हो। इम्पेरिअल कलेज लन्डनको समूहले गरेको उक्त मोडलिङ ओमिक्रोन बारेका सीमित सूचनामा आधारित छ। तीव्र गतिमा फैलिइरहेको उक्त नयाँ भेरिअन्टबारे वास्तविक अवस्थाका अझै धेरै सूचनाहरू सङ्कलन गर्नुअघि अहिले पनि उच्च तहको अनिश्चितता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। विज्ञहरूले ओमिक्रोन भेरिअन्ट कति गम्भीर हुन्छ वा हुँदैन भन्नेबारे पत्ता लगाउन कोसिस गरिरहेको जानकारी दिएका छन्। खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी काम गर्ने भनेर सिकाउँछन्।

तर अहिले उपलब्ध खोपहरू उच्च मात्रामा उत्परिवर्तित ओमिक्रोन भेरिअन्टका लागि प्रयोग गर्ने हिसाबले बनाइएका होइनन्। त्यसैले गर्दा ती खोपहरू उक्त भाइरसका लागि ठ्याक्कै काम गर्ने खालका होइनन्।

बूस्टर मात्रा लगाउन सुझाव
यसबाट बच्नका लागि यूकेका मानिसहरूलाई बुस्टर मात्रा खोप लगाउन सुझाइएको छ। त्यसले गर्दा मानिसहरूमा भाइरससँग लड्ने एन्टिबडीको तह उच्च हुनेछ। एन्टिबडीले भाइरसमा टाँसिएर उसलाई कोषहरूमा प्रवेश गर्न र भाइरसको मात्रा बढाउन रोक्नेछ।

अध्ययनहरूले दुई मात्रा खोप लगाएका व्यक्तिहरूले भाइरसलाई बाहिर राख्ने एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म क्षमतामा कमी आएको देखाएका छन्। इम्पेरिअल समूहको प्रारम्भिक कामले ओमिक्रोनविरुद्ध खोपको प्रभावकारिता कम हुनसक्ने ठानेको छ। बूस्टर मात्राले पनि गम्भीर अवस्थाबाट बचाउने दर अन्य भेरिअन्टका तुलनामा कम देखिएको छ। ओमिक्रोनमा यस्तो प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत छ भने डेल्टालगायतका अन्यमा यस्तो प्रभावकारिता ९७ प्रतिशत रहेको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्