विश्वमा फेरि कोरोनाको लहर, संक्रमण हालसम्मकै उच्च, ओमिक्रोनबारे डब्ल्युएचओको चेतावनी – Janadesh Daily | ePaper

विश्वमा फेरि कोरोनाको लहर, संक्रमण हालसम्मकै उच्च, ओमिक्रोनबारे डब्ल्युएचओको चेतावनी


जनादेश हेल्थ डेस्क।

विश्वभर एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । वर्ल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिनेमा अमेरिकामा मात्रै ४ लाख ३८ हजारभन्दा धेरै छन् । त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ।

यही अवधिमा ५ लाख ६९ हजार निको भएका छन् भने ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ । तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको छ ।

ओमिक्रोनबारे डब्ल्यूएचओको चेतावनी
ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ ।

धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ । ती देशहरुमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ ।

ओमिक्रोन चिन्ताको नयाँ संस्करणसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ । डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रति व्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ ।

ती अध्ययनहरूको बावजुद, ओमिक्रोनको द्रुत बृद्धिले “अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहहरूमा, र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा उच्च सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् ।

क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ । मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन्।

चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलबार १७ हजार १ सय ७२ पुगेको छ ।

ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो । यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्