जनादेश हेल्थडेस्क।
विश्वभर कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित बढिरहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार एक सूचना जारी गर्दै भन्यो– नेपालमा कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन सबै निकाय पूर्वतयारीका साथ रहनू ।
“नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि विगतमाझैँ कोभिड केस बढ्न नदिन सतर्क हुनु अपरिहार्य छ,” महाशाखाको सूचनामा भनिएको छ ।
महाशाखाको यो सूचना सरकारको नियमित सन्देश मात्र नभई नेपालमा कोभिड १९ को तेस्रो लहरको जोखिमबारे बजाइएको ‘अर्लाम’ पनि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकलाई हेर्दा पनि नेपालमा कोभिड संक्रमण पुन: उकालो लाग्दो देखिन्छ ।
बढ्दो टेस्ट पोजिटिभिटी दर र घट्दो सुरक्षा मापदण्डको पालनाले नेपालमा ओमिक्रोनकै कारण तेस्रो लहर भित्रिने त होइन भन्ने प्रश्न पैदा गरेको छ ।
नेपालमा पुसका १८ दिनमा ४ हजार २९६ जना कोभिड संक्रमित थपिएका छन् । पुस १८ गतेको तथ्यांकलाई हेर्दा ५ हजार ९६२ नमुनाको पीसीआर परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको छ । मंसिर महिनाको तथ्यांकमा ११ हजारको हाराहारीमा परीक्षण गर्दा पनि यही संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
त्यसैगरी भारतसँगको सीमा नाकामा पछिल्लो समय संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।
‘ओमिक्रोन फैलिने जोखिम बढेको छ’
भारतमा कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि ओमिक्रोन फैलिने जोखिम बढेको छ । नेपालमा ३ जनामा ओमिक्रोन पुष्टि भएपछि पनि केही शंकास्पद नमुनाहरू भेटिएका छन् । नेपालमा डेल्टा भेरियन्ट आइसकेपछि एस जिन नेगेटिभ आउने नमुनाहरू भेटिन छोडिसकेका थिए । त्यसअघि एस जिन नेगेटिभ देखिँदा अल्फा हो भन्ने अनुमान लगाइन्थ्यो ।
“पछिल्लो केही दिनयता परीक्षण गरिएका नमुनाहरूमा एस जिन नेगेटिभ देखिनुलाई हामीले ओमिक्रोनको इन्डाइरेक्ट मार्करको रूपमा लिएका छौँ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले भने ।
परीक्षण गरिएका नमुनामा एस जिन नेगेटिभ देखिनेको संख्या बढ्नु र नेपालसँग आउजाउ बढी हुने भारतका राज्यहरूमा ओमिक्रोनको संक्रमण बढ्नुले नेपालमा ओमिक्रोन फैलिने जोखिम बढेको डा. पौडेलको भनाइ छ । भारतका पश्चिम बंगाल, उत्तराखण्ड लगायतका क्षेत्रमा अहिले ओमिक्रोन संक्रमण बढेको छ । नेपाल भारत सीमा जोडिएका नाकाबाट पछिल्ला दिनहरूमा दैनिक ३ हजारको संख्यामा नेपाली र भारतीय नागरिक भित्रिने गरेको महाशाखाको तथ्यांक छ ।
हट स्पट बन्दै काठमाडौं
पछिल्लो समय रहेका कोभिड १९ का सक्रिय संक्रमितमध्ये ४२.५५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभर ५ हजार ५ जना सक्रिय संक्मित रहँदा २ हजार १३० जना काठमाडौं उपत्यकामा छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार काठमाडौंमा मात्रै १ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा यो संख्या ५०२ र ललितपुरमा ५८४ रहेको छ । कोभिड संक्रमणको जोखिमका हिसाबले काठमाडौं उपत्यकाका तीनै जिल्ला अहिले ‘रेड जोन’मा रहेका छन् । यीबाहेक सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी रहेका छन् ।
के तेस्रो लहर आउनसक्छ ?
नेपालमा कोभिड १९ का दुईवटा लहरमा डेल्टा भेरियन्ट बढी मात्रामा फैलिएको थियो । अर्थात् डेल्टा भेरियन्ट फैलिएकै कारण नेपालमा दोस्रो लहरको संक्रमण उच्च भएको थियो । कुनैपनि नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएमा संक्रमण उच्च भइ अर्को लहरको रुपमा देखिनसक्ने विज्ञहरू बताउँछन् । नेपालमा अहिलेको हकमा ओमिक्रोनका कारण संक्रमण केही बढेपनि अर्को लहर आउने सम्भावना भने कम रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन बताउँछन् ।
बुष्टर डोजको तयारी
सरकारले कोभिड-१९ विरुद्ध खोपको अतिरिक्त मात्रा दिइने भएको छ। पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका जोखिम समूहमा रहेका व्यक्तिहरूलाई भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप मात्रा डोज खोप दिने भएको हो। मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूलाई खोप दिन लागिएको जनाएको छ।
कसले पाउँछ खोपः यी हुन् खोप पाउने समूहहरू
-मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू
-सक्रिय क्यान्सरका बिरामी
-अंग प्रत्यारोपण गरेका बिरामी
-एचआइभी भएका बिरामी
-उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी
-त्यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिलाई यो अतिरिक्त खोप लगाउन पाउनेछन्।
खोप लगाउन आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।