जनादेश हेल्थ डेस्क।
नेपालमा केही समय कम देखिएको कोरोनाको संक्रमणदर फेरि उकालोलाग्दो छ। १९ पुसमा २ दशमलव ६ प्रतिशतमा झरेको संक्रमणदर अहिले ह्वात्तै बढेर ९ दशमलव १० प्रतिशतमा पुगेको छ।
दशैं–तिहारअघि ५ प्रतिशतमा रहेको संक्रमण दर तिहारपछिको चहलपहलले ८ मा पुग्यो। त्यसयता विगत डेढ महिनासम्म दैनिक ३ सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको थियो। गत शुक्रबारदेखि यो संख्या झन्डै दोब्बर पुगेको छ।
गत शुक्रबार २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यससँगै विज्ञहरूले नेपालमा अब छिट्टै कोभिडको तेस्रो लहर आउँने प्रक्षेपण गरेका छन्। डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनलाई निकै संक्रामक मानिएको छ। तर, यसले ल्याउने जटिल समस्या र मृत्युदरको जोखिम कम रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।
के छ हस्पिटल प्रणाली
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को नयाँ भवनमा अघिल्लो साता कोरोनाका आठ जना बिरामी भर्ना भएका थिए । तर यो साता भर्ना हुनेको संख्या बढेर २५ पुगेको छ । ‘संक्रमितको संख्या तेब्बरले बढेको छ । २५ जनामध्ये पाँच जनामा कडा लक्षण छ । एक जना भेन्टिलेटरमा हुनुहुन्छ,’ अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेठले भने, ‘यसले कोरोनाको तेस्रो लहरको सँघारमा पुगेको देखाउँछ ।’
अस्पतालमा कोरोनाको परीक्षण गर्न आउनेको संख्या पनि बढेको छ । ‘अघिल्लो साता ८० देखि १०० जना पीसीआर गराउन आउँथे । आज आइतरबार १२ बजेसम्म १४० जनाले पीसीआर गराए । पीसीआर गराउनेको लाइन पनि बढेको छ,’ उनले भने । सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा अघिल्लो सातासम्म दिनमा दुई जनाको हाराहारीमा कोरोनाका बिरामी भर्ना हुन्थे । तर, यो सातामा आइपुग्दा दैनिक सात जना बिरामी भर्ना हुन थालेका छन् । ‘ग्राफ बढेको छ । एक सातामा बिरामीको संख्या बढेको छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविन नेपालले भने ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुसको पहिलो सातामा संक्रमितको संख्या शून्यमा झरेको थियो । हाल भर्ना हुने कोरोना संक्रमितको संख्या बढेको छ । ‘इमर्जेन्सीमा रुघाखोकी लागेका र अक्सिजन कम भएका बिरामीको संख्या बढेको छ । बीचमा भर्ना हुनेको संख्या शून्य थियो,’ अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले भने, ‘छ जना आईसीयूमा, दुई जना भेन्टिलेटरमा र १२ जना वार्डमा छन् । कुनै पनि दिन ‘आउट ब्रेक’ हुन सक्छ । तयारी अवस्थामा बसेका छौँ ।’
पाटन अस्पतालमा हाल ३८ जना कोरोनाका बिरामी उपचाररत छन् । अबको दुई सातामा संक्रमितको संख्या बढ्ने बताउँछन्, अस्पतालका निर्देशक डा. रवि शाक्य । ‘उच्च सतर्कताका साथ तयारी अवस्थामा बसेका छौँ । अबको दुई सातामा संख्या बढ्न सक्छ,’ उनले भने, ‘यो लहरमा जनशक्तिको अभाव हुन सक्छ । तीव्र गतिमा संक्रमण फैलिँदा ग्रुपमा स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम छ । पोजिटिभ भए पनि काम गर्नुपर्ने स्थिति आउन सक्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि तेब्बरले संक्रमण बढेको देखाउँछ । गत आइतबार कोरोनाको संक्रमण दर २.८३ प्रतिशत थियो । तर, सोमबारदेखि उकालो लागेको संक्रमण दर आइतबार आइपुग्दा ९.२३ प्रतिशतमा पुग्यो ।
बिजुलीको गतिमा ओमिक्रोन फैलिदै
भारतमा भएको अध्ययनअनुसार दोस्रो लहरमा कोरोनाको आर भ्यालु १ दशमलव ६९ प्रतिशत थियो। अहिले भार भ्यालु २ दशमलव ९ प्रतिशत छ। आर भ्यालुमार्फत कोरोना फैलने रफ्तार अनुमान गरिन्छ। यदी १ सय व्यक्ति संक्रमित छन् र उनीहरूले थप एक सयलाई संक्रमित बनाउँछन् भने आर भ्यालु १ मानिन्छ। अर्थात्, तेस्रो लहरमा संक्रमण धेरै फलने देखिएको छ। र, यसको कारण ओमिक्रोनलाई लिइएको छ।
डा.पुनका अनुसार ओमिक्रोन बिजुलीको गतिमा फैलिरहेको छ, जुन हामीले पत्तो समेत लगाउन सक्दैनौं। “२३ गते मन्त्रालयले २४ जनामा ओमिक्रोन देखियो भनेर सूचना निकाल्यो यसलाई आधार मानेर हेर्ने हो भने ओमिक्रोन समुदायस्तरसम्म बिजुलीको गतिमा फैलिरहेको छ,” उनले भने, “ओमिक्रोन समुदायस्तरमा फैलिसकेको कुरामा दुईमत रहेन। तर यसले डेल्टा जति जटिल समस्या नल्याउने भएकाले कतिपय संक्रमित व्यक्ति घरमै बसेर पनि बिना चेकजाँच निको भइसकेको हुनसक्छन्।” संक्रमण फैलिएपनि अस्पतालमा चाप नबढेकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
संक्रमण फैलिन नदिन के गर्ने ?
मुख्य रूपमा नेपाल–भारत सिमानामा निगरानी, परीक्षण गर्ने र संक्रमितको व्यवस्थापन चुस्त गतिमा गर्नुपर्नेमा जोड दिन्छन् जनस्वास्थ्यविद् डा. शरद वन्त । ‘हिजोका गल्ती कमीकजोरीबाट सिक्ने हो । अब परीक्षणको विधिलाई पुनरावलोकन गर्ने बेला भएको छ । कन्ट्याक्ट ट्रेसिङ र जोखिममा रहेका नागरिकको परीक्षणको दायरा बढाउने हो । अर्को आइसोलेसनको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भनेर आइसोलेसनको निगरानी गर्नैपर्छ,’ उनले भने ।
मपदण्ड पालना नगरेमा आवश्यक पर्यो भने दण्ड सजायको पनि व्यवस्था गर्न उनको सुझाव छ । ‘हिजोका दिनमा कतिपय नागरिकले थाहा नपाएर पनि लापर्वाही गरे । आज त्यो स्थिति छैन । अब जिम्मेवार भएर कार्यान्वयन गर्ने पाटो मात्र हो । राज्यले अनुगमन गर्ने र निर्देशित गर्ने हो । भारतमा मास्क नलगाए जरिवाना गर्ने भनेको छ । त्यसैले आवश्यक पर्यो भने दण्ड सजायको पनि व्यवस्था गर्नुपर्छ,’ उनले भने ।