जनादेश, काठमाण्डौं । ओमिक्रोन भेरियन्ट फैलिने क्रम विश्वभर तीव्र भैरहँदा युरोपेली औषधि नियामक निकाय इएमएले कोरोना महामारीबाट इन्डेमिक रोगका रुप विकसित हुदै गएको जनाएको छ ।
कोरोना इन्डेमिक अर्थात निश्चित क्षेत्रमा नियमित रुपमा देखिने रोगका रुपमा विकास हुदै गएको र कोरोना भाइरससँग मानिस बाँच्न सक्ने बन्दै गएको दाबी इएमएको छ । यस्तो चेतावनीकाबीच युरोप लगायतका विभिन्न मुलुकमा दैनिक संक्रमणले नयाँ रेकर्ड बनाएको छ । नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट तीब्र हुदाँ विश्वभर संक्रमणको ग्राफ उकालो लागेको हो ।
पछिल्लो २४ घण्टामा जर्मनी, बुल्गेरिया, साउदी अरबिया, अष्ट्रिया, दक्षिण कोरिया लगायतका मुलुकमा एकैदिन हाल सम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन् । जर्मनीमा ८० हजार, बुल्गेरियामा ७ हजार, साउदी अरबियामा ५ हजार, अष्ट्रियामा १८ हजार भन्दा बढि संक्रमित थपिएका छन् ।
अमेरिका, युरोप, एशियामा संक्रमण ह्यवात्तै बढेपछि विश्वभर दैनिक संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा महामारी यताकै उच्च अर्थात २८ लाख ९ हजार भन्दा बढी संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमित हुनेको संख्या ३१ करोड ४२ लाख नाघेको छ भने ५५ लाख २२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
यस्तै रेडक्रसले ओमिक्रोन भेरियन्टका कारण दक्षिण एशियाको स्वास्थ्य प्रणाली जोखिममा पर्दै गएको बताएको छ भने विश्व स्वास्थ्य संगठनले युरोपका आधा जनसंख्या संक्रमणको चपेटामा पर्ने चेतावनी दिएको छ । डब्लुएचओले संक्रमण बढिरहँदा थप बुष्टर डोज दिने नीति व्यवहारिक नभएको जनाएको छ ।
विपन्न मुलुकले खोपको कुनै पनि मात्रा नपाउँदा थप बुष्टर डोज प्रभावकारी नहुने भनाइ डब्लुएचओको छ । यस्तै संक्रमण तिब्ररुपले बढेपछि संक्रमण नियन्त्रणका लागि विभिन्न मुलुकले प्रतिबन्धात्मक व्यावस्था कडा पारेका छन् ।