इपिसेन्टर बन्यो काठमाडौंः सक्रियमध्ये ६१ प्रतिशत यहीँ, अर्को निर्णयको तयारीमा जिल्ला प्रशासन – Janadesh Daily | ePaper

इपिसेन्टर बन्यो काठमाडौंः सक्रियमध्ये ६१ प्रतिशत यहीँ, अर्को निर्णयको तयारीमा जिल्ला प्रशासन


जनादेश वाच।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनमा संक्रमण देखिएको हो।

आइतबार देशभर ४ हजार ९६१ जनामा संक्रमण देखिएको थियो। आइतबार पुष्टि भएको कुल संक्रमितको ६७.४६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएका छ। यस्तै, भिडभाड हुने गतिविधिमा पनि रोक लगाएको छ।

आइतबारको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। यी मध्ये काठमाडौं उपत्यकामा १५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्। हाल कुल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६१.७४ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो एक साता यता काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणदर तीव्र गतिमा फैलिरहेको छ ।

थप कडाईको तयारी
काठमाडौंमा हटस्पट बनेपछि तीन जिल्ला प्रशासनले थप कडाईका निर्णय गर्ने तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मन्त्रिपरिषद्को निर्णय आइसकेपछि आवश्यकताअनुसार कदम चाल्न तयार रहेको जानकारी दिइन । उनले उपत्यकाको संक्रमण रोकथामबारे प्रजिअहरू छलफलमा जुटिरहेको पनि बताइन् ।

‘‘पछिल्लो समय उपत्यकामा अत्यधिक मात्रामा संक्रमण बढिरहेको छ । यसको रोकथाम गर्न मन्त्रिपरिषद्ले विभिन्न निर्णयहरू गरिसकेको छ । अब उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का सीडीओहरूको बैठक बसेर आवश्यक निर्णय गर्छौं,” ढुंगेलले भनिन् ।

यसअघि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले जिल्लाको अवस्था हेरेर छुट्टाछुट्टै आदेश जारी गरेका थिए । तीनै जिल्लाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेका थिए ।

उनले मन्त्रिपरिषद्को नयाँ निर्णयअनुसार पहिले जारी गरिएका आदेशमा तत्काल फेरबदल गर्न सकिने बताइन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि संक्रमणदर अत्याधिक फैलिएकाले छिट्टै मन्त्रिपरिषद्का निर्णयहरू कार्यान्वयनमा ल्याउने गृहकार्य भइरहेको जानकारी दिइन् । उनले आफ्नो जिल्लाको अवस्था हेरेर जिल्लैपिच्छे फरक आदेश जारी हुनसक्ने बताइन् ।

‘‘सरकारले पहिले गरेका निर्णयहरू कार्यान्वयनको अवस्थामा छन् । मन्त्रिपरिषदका थप निर्णयहरू सार्वजनिक गरिएको छ । अब पहिले स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएका निर्णयहरू फेरबदल गरिने छ,” उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्रिपरिषदका निर्यणहरू कार्यान्वयनमा लैजान गृहकार्य गरिरहेको जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उपत्यकाको हकमा तत्काल निर्णयहरू कार्यान्वयन गरिने जानकारी दिए । उनले पनि पहिले जारी भएका आदेश फेरबदलको तयारी थाल्ने बताए ।

‘‘मन्त्रिपरिषदका निर्णयहरू प्रशासनमा आइपुगेको छैन । गएको पुस २७ गते तीन जिल्लाले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरेका थियौँ । तत्काल कडा लकडाउन नै जारी गर्ने अवस्थामा पुगेका छैनौँ । सरकारका निर्णयहरू कार्यान्वयन गर्ने प्रक्रियामा छौँ । निर्णयहरू कडाइका साथ पालना गराउनै पर्छ,” उपाध्यायले भने ।

कोभिड सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा प्रशासनको आदेश अवज्ञा भएको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जनाइएको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्