जनादेश हेल्थ वाच।
जनस्वास्थ्यविद्हरूले नेपालमा आवश्यक मात्रामा कोरोना परीक्षण नहुँदा संक्रमितको संख्या वास्तविकभन्दा धेरै कम आएको अनुमान गरेका छन्। अहिले दैनिक करिब २६ हजार परीक्षण गर्दा आधाजसोमा संक्रमण देखिएको बताउँदै ५० हजार परीक्षण गरे संक्रमितको संख्या २५ हजार पुग्नसक्ने उनीहरुको धारणा छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख भइसकेका जनस्वास्थ्यविद् डा. बाबुराम मराशिनीले भने, “सरकारले आवश्यक मात्रामा परीक्षण गर्न नसकेको र पीसीआर परीक्षण शुल्क महंगो भएर ओमिक्रोन भाइरसको लक्षण देखिएका व्यक्तिले समेत परीक्षण गराएका छैनन्।”
परीक्षणको चलन हरायो
काठमाडौं जोरपाटीकी उमा क्षेत्रीलाई माघ १ मा शरीर भारी हुने, गल्ने भइराखेको थियो । बेलुकापख हनहनी ज्वरो आयो । उनले सोचिन्- मौसम परिवर्तनको असर होला ।
थर्ममिटरले ज्वरो १०३ फरेनहाइड देखायो । सिटामोल खाएर सुतिन् । तर, औषधीले पनि छोएन । विहान उठ्दा घाँटी दुख्ने, छाती दुख्ने, रुघाखोकी लाग्ने पनि थपियो । कोरोनाको आशंका भइहाल्यो । तर, उनी पीसीआर टेस्ट गर्नतिर लागिनन् ।
मेडिकल पुगेर सामान्य चेकजाँच गरिन् । ५ दिनको लागि औषधी बोकेर आइन् । दुई दिन काममा जान सकिनन् । उनी भन्छिन्, ‘मलाई कोभिड भयो होला भन्ने शंका लागेको थियो । टेस्ट गराएको भए १०० प्रतिशत पोजिटिभ देखिन्थ्यो होला ।’
उमासँगै काम गर्ने सहकर्मीलाई अघिल्लो दिन मात्रै कोभिड भएको थियो । उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेकी थिइन् । उनलाई ज्वरो आएको तेस्रो दिन परिवारको अन्य सदस्यलाई पनि लक्षण देखियो । यतिञ्जेल सबैले कोभिड नै हो भन्ने निधो गरिसकेका थिए । तर, कोही पनि पीसीआर गर्न गएनन् ।
ज्वरो आएपछि पनि परिवारका सदस्य आफैं तरकारी किनेर ल्याउनेदेखि बजारसमेत जान्थे । कोही पनि आइसोलेसनमा बसेनन् । ओमिक्रोन पुष्टि भएको ७ दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम छ । तर उमा ३ दिनदेखि नै अफिस जान थालिन् ।
उनी भन्छिन्, ‘लक्षण हेर्दा कोभिड नै भएको पक्का भयो । तर, घरमा अनावश्यक तनाव हुन्छ भनेर पनि टेस्ट गराइनन् । फेरि टेस्ट गर्न पैसा पनि धेरै लाग्छ ।’
कोभिड टेस्ट नगराएपछि आइसोलेसनमा पनि नबसेको उनी स्वीकार्छिन् । परीक्षण नगरेर परिवारमा नै जोखिम मोलेको उनले बताइन् ।
काठमाडौं दक्षिणढोकामा किराना पसल चलाउँदै आएकी निर्मला सापकोटालाई पनि एक साताअघि ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने भयो । ज्वरोले उठ्नै नसक्ने गरी थलिइन् । सिटामोल खाएर बसिन् । उनले पनि कोभिड परीक्षण गराउन आवश्यक ठानिनन् ।
तीन दिनपछि विस्तारै कम हुदै गयो । तर उनको श्रीमान रामकष्ण सापकोटालाई पनि ज्वरोले समात्यो । निर्मलालाई जस्तै लक्षण देखिएपछि उनी पनि सिटामोल खाएर सुते । तर ज्वरा रे खोकी झनै बढ्दै गएपछि उनको अफिसले पीसीआर गर्न बोलायो । पीसीआर रिपोर्ट पोजेटिभ आयो ।
उनलाई आपत पर्यो । दुईवटा कोठामा बसिरहेका उनीहरु आइसोलेसन बस्ने ठाउँ नै भएन । पोजिटिभ भएरु पनि मापदण्ड पालना गर्न नसकेको उनी बताउँछन् ।
‘छुट्टै सुते पनि सबैको शौचालय एउटै हुन्थ्यो । भान्सा एउटै थियो । सबै कुरा पालना गर्न सम्भव नै भएन,’ उनले भने । उनलाई ५ दिनपछि निको भयो । तर, लगत्तै आमालाई ज्वरो आयो । आमालाई पनि रामकृष्णको जस्तै लक्षण देखियो । तर आमाले पीसीआर गराइनन् ।
उनी भन्छिन्, ‘अब कोरोना हो भन्ने थाहा भइसक्यो । गाह्रो भएको छैन । खर्च मात्रै बढ्ने हो भनेर पीसीआर गराइन । आइसोलेसनमा पनि बसिन ।’
चितवनको प्रहरी तालिम शिक्षालयमा तालिम गरिरहेका सहायक प्रहरी निरीक्षकहरुलाई धमाधम ज्वरो आउने र टाउको दुख्ने भयो गत साता । तालिम गरिरहेका झण्डै ६ सय जनामा एकै किसिमको लक्षण देखेपछि शंका लागेर १६ जनाको कोरोना परीक्षण भयो । परीक्षण गरेका सबैमा कोरोना पोजेटिभ देखियो ।
रिपोर्ट आएपछि संक्रमितलाई आइसोलेसनमा राखियो । ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका अरु शिक्षार्थीलाई परीक्षण नगरी आइसोलेसनमा राखियो ।
एक शिक्षार्थी भन्छन्, ‘हामीलाई परीक्षण नगर्ने रे । जो-जोलाई लक्षण देखिन्छ, उनीहरु आइसोलेसनमा बस्नु भन्नुभएको छ । हामी ज्वरो आउने बितिकै छुट्टै रुममा बस्ने हो ।’
उनका अनुसार अब लक्षण देखिएकाको पीसीआर नगराउने शिक्षालयले निर्णय गरेको छ । ५ दिन आइसोलेसनमा बसेर नियमित काममा फर्किनुपर्ने उनको भनाइ छ ।
कोरोनाको तेस्रो लहरले अहिले सिंगै देशलाई लपेटेको छ । संक्रमण घर–घरमा फैलिइसकेको अवस्थामा धेरैले पीसीआर नै गराउन छोडेका छन् । त्यसैले सरकारी आँकडाले देखाउनेभन्दा धेरै गुणा संक्रमित हुन सक्ने विज्ञहरु बताउँछन् ।
लक्षण देखिदा पनि परीक्षण गराउन छोडियो
जनस्जास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अहिले कोरोनाको लक्षण देखिएपनि पीसीआर नगर्नुको एउटा कारण पैसा पनि रहेको बताउँछन् । पैसा नहुनेहरु कोभिडलाई बेवास्ता गरेर समुदायमा हिँडिराखेको उनको भनाइ छ ।
मरासनीले भने, ‘उपचारको लागि ७० रुपैयाँ पनि नलाग्ने तर टेस्ट गर्न २ हजार चाहिने भएपछि मानिसहरु पीसीआर गर्न निरुत्साहित भएका हुन् ।’
पहिला संक्रमितको सम्पर्कमा आएकोहरुको कन्ट्रयाक्ट टे«सिङ सरकारले गरिदिन्थ्यो । तर अहिले आफैंले गर्नुपर्ने भएकाले पनि पीसीआर नगरी बस्नेहरु बढेको उनी बताउँछन् ।
‘गरेर साध्य पनि छैन । संक्रमितको सम्पर्कमा आएका कयौं मान्छे हुन्छन् । कन्ट्याक्ट टे«सिङ गराउने हो भने एकैदिन २५ हजार संक्रमित भेटिन सक्छन्,’ मरासनीले भने । परीक्षण शुल्क घटाइएको भने पनि प्रयोगशालालाई अझै चिठी नगएको उनले बताए ।
तर, पीसीआर नगर्नुको कारण पैसा मात्र नभएको मरासनी बताउँछन् । उनले भने, ‘पैसा एउटा फयाक्टर हो । अर्को चाहिँ मान्छेमा खोप लगाएपछि साह्रै कडा लक्षण हुँदैन रहेछ र चाँडै निको हुँदो रहेछ भन्ने आत्मविश्वास पनि बढेको छ । ५-६ दिन हेरिहालौ भनेर बस्दा धेरैलाई निको भएको छ ।’
जनस्वास्थ्यविद् डा. शरद वन्तको तर्क पनि उस्तै छ। अहिले अस्पतालमा पुगेका व्यक्तिको मात्र परीक्षण भइरहेको उनले बताए। “समुदायस्तरमा पुगेर आवश्यक मात्रामा परीक्षण भएको छैन”, उनले भने, “अहिले धेरैजसो घरमा कोरोनाको लक्षण भएका मान्छे छन् तर धेरैले परीक्षण नै गराउँदैनन्। उनीहरु निस्फिक्री भएर घुमिरहेका छन्। यसरी कोरोना धेरैमा सल्किरहेको छ।”
नेपालमा परीक्षण गरेकामध्ये ५० प्रतिशतमा संक्रमण देखिएको उनी बताउँछन्। उनले भन्छन्, “१० माघ २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ मा देखिएको छ। ९ माघमा १३ हजार मात्र परीक्षण गरेर साढे छ हजारमा मात्र देखियो।”
भोलि ३० हजार परीक्षण गर्दा १५ हजारमा संक्रमण देखिन सक्ने उनले अनुमान गरे। कोरोना भाइरस परीक्षणको संख्या वृद्धि भएसगैं संक्रमितको संख्या वृद्धि भएकाले देशव्यापी रुपमा परिक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन्। ६ माघमा २७ हजार ४९५ जनाको परिक्षण गर्दा १२ हजार ३३८ जना संक्रमित थपिएका थिए।
९ माघमा १७ हजार ४३७ परीक्षण हुँदा ६ हजार ४६२ जनामा संक्रमण देखिएको भन्दै उनी भन्छन्, “सरकारले परिक्षणको दायरा व्यापक बनाउनुपर्छ, त्यसको लागी सजिलै परीक्षण गर्नसकिने व्यवस्था मिलाउने, शुल्क घटाउने र प्रयोगशाला पनि बढाउनुपर्छ।”
सरकारले पीसीआरको शुल्क घटाएर सरकारी प्रयोगशालामा आठ सय र निजीमा एक हजार पाँच सय पुर्याए पनि अस्पतालहरुले अहिले पनि तोकेभन्दा महंगो शुल्क असुल्ने गरेको डा. मरासिनीको भनाइ छ।
उनले भने, “सरकारले परीक्षण शुल्क घटाउने भनेको मात्र हो कति प्रयोगशालामा त्यो लागू नै भएको छैन।”
संक्रमित व्यक्ति नै संक्रमण विस्तारका स्रोत भएकाले परिक्षणको दायरा बढाएर संक्रमितको पहिचान गरी व्यवस्थापन गर्न उनले सुझाएका छन्। “अहिले हामीसँग कुनै निगरानी र अनुगमन छैन, संक्रमितहरु कहाँ कसरी बसिरहेको छन् समेत थाहा छैन” वन्तले भने भन्छन, “कन्ट्रयाक ट्रेसिङमा परेकालाई खोजेर परिक्षण गर्नेमा सरकारको ध्यान पुग्नै सकेको छैन्।”
महाशाखा भन्छः सबैजना अनुशासित र जिम्मेवार हुनुपर्छ
सरकारले पहिलाजस्तो संक्रमितको सम्पर्कमा आएकाहरु कन्ट्याक्ट टे«सिङ नगरेको स्वीकार्छ स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा । अहिले महाशाखाले कन्ट्याक्ट ट्रेसिङ र संक्रमितको निगरानी गर्ने जिम्मा स्थानीय पालिकालाई दिएको छ । तर स्थानीय पालिकाहरुले वेवास्ता गर्दा संक्रमण बढेको महाशाखाको भनाइ छ ।
सबैभन्दा बढी संक्रमित काठमाडौं, भक्तपुर र ललितपुरमा भेटिएपछि तीनै जिल्ला स्वास्थ्य कार्यालयमा कन्ट्याक्ट टे«सिङ के भइराखेको छ भनेर महाशाखाले सोधेको थियो ।
महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘कन्ट्याक्ट ट्रेसिङ स्थानीय निकायले गर्ने हो । तर राम्रोसँग भइराखेको छैन । काठमाडौंमा विशेषगरी वाहिरका मान्छे धेरै छन् । वडालाई पनि थाहा छैन कति मान्छे छन् भन्ने । सबैको रेकर्ड व्यवस्थित छैन । काठमाडौंको कीर्तिपुरमा बरु राम्रो छ ।’
अहिले ८२ हजार संक्रमितमध्ये ८० हजार संक्रमित होम आइसोलेसनमा रहेको भनिएको छ । संस्थागत आइसोलेसनमा थोरै छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई पीसीआर आवश्यक पनि नभएको डा. पौडेल बताउँछन् । उनी भन्छन्, ‘पीसीआर नगर्ने पनि हुन्छन् । तर संक्रमितबाट सर्न सक्ने हुनाले आफैले सेल्फ आइसोलेसन गरे भने समस्या धेरै हुदैन ।’
पौडेलका अनुसार टेस्ट बढाउने हिसाबले सरकारी तथा प्राइभेट प्रयोगशालाहरुमा रेट पनि घटाइएको छ । तर जसका लागि टेस्ट वाध्यात्मक छ, उनीहरुमात्रै जाने गरेको उनले बताए ।