जनगणनाको आँकडामा देखिएको देशः घट्दो जनसंख्या वृद्धिदरको दीर्घकालीन संकेत के ! – Janadesh Daily | ePaper

जनगणनाको आँकडामा देखिएको देशः घट्दो जनसंख्या वृद्धिदरको दीर्घकालीन संकेत के !


जनादेश वाच।
नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा अनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

दश वर्षअघि (२०६८ साल) को तुलनामा हालको जनसंख्या १०.१८ प्रतिशत अर्थात् २६ लाख ९७ हजार ९७६ ले बढी हो। विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। जुन अघिल्लो जनगणनामा देखिएको १.३५ बाट घटेको हो।

प्रदेशगत आधारमा परिवारको आकार
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेको छन् जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो। जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना सदस्य रहेका छन् भने रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी रहेको देखिएको छ। गत दश वर्षमा प्रति परिवार सदस्य संख्यामा कमी आएको देखिन्छ। २०६८ मा ४.८८ रहेको प्रति परिवार संख्या २०७८ मा ४.३२ जनामा झरेको हो। शहरी क्षेत्रको परिवारमा लगभग ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेका देखिन्छ। दश वर्षअघि यो संख्या क्रमशः ४.३२ जना र ५.०२ जना थियो। भौगोलिक क्षेत्र अनुसार हेर्दा हिमाली क्षेत्रमा करिब ४.२७, पहाडमा ३.९५ र तराई क्षेत्रमा ४.६५ जना प्रति परिवार रहेको देखिएको छ।

विदेशिने नेपालीको संख्या
२१ लाख ६९ हजार ४७८ व्यक्ति विदेशमा बसोबास गरेका देखिन्छन्। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन्। दश वर्षअघि विदेशमा बसोबास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो। जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए।


२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ। भौगोलिक क्षेत्र अनुसार विदेशिने जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रहेका देखिन्छन्।

भौगोलिक क्षेत्र अनुसार जनसंख्या वितरण
भौगोलिक क्षेत्र अनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको विगत २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ।

हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ। पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ।

प्रदेश अनुसार जनसंख्या वितरण
प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ प्रतिशत रहेको छ। वाग्मती प्रदेशमा दोस्रो ठूलो जनसंख्या २०.८४ प्रतिशत रहेको छ जुन २०६८ को जनगणनामा २०.८७ प्रतिशत थियो। २०७८ मा जनसंख्याको आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौँमा क्रमशः लुम्बिनी, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन्। गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेशबाहेक सबै प्रदेशको कूल जनसंख्यामा हिस्सा घटेको देखिन्छ।

प्रदेश अनुसार जनसंख्या वृद्धिदर र परिवर्तन
गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशमा राष्ट्रिय औसतभन्दा बढीले, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा कम र वाग्मती प्रदेश र प्रदेश १ मा राष्ट्रिय औसतको हाराहारीमा जनसंख्या थप भएको देखिन्छ। प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर र जनसंख्या परिवर्तन हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको देखिन्छ। दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम नै रहेको देखिन्छ।

ग्रामीण/शहरी जनसंख्या वितरण
नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको छ।

२०७८ सालको जनगणनामा शहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत पुगेको छ। २०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोले सोही अनुसार शहरी जनसंख्याको विश्लेषण गरिएको थियो।

जसअनुसार २०६८ मा १७.०७ प्रतिशत शहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या रहेकोमा संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत पुगेको थियो।

जिल्ला अनुसार जनसंख्या र लैंगिक अनुपात
नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको पाइएको छ। काठमाडौंमा २० लाख १७ हजार ५३२ जना जनसंख्या छन्। त्यस्तै, सबैभन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ जनाको बसोबास रहेको छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठानको ८२ छ।

जिल्ला अनुसार जनसंख्याको वार्षिक वृद्धिदर
जिल्लागत रूपमा जनसंख्या वृद्धिदरको विश्लेषण गर्दा अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर घटेको देखिन्छ भने तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर बढेको देखिन्छ। जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। २०६८ को जनगणनामा २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो। सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा (३.३२ प्रशित) र सबैभन्दा कम रामेछाम जिल्लामा (-१.६५ प्रतिशत) रहेको छ।

सबैभन्दा कम जनसंख्या बृद्धि हुने अन्य ४ जिल्लामा खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् भने सबैभन्दा धेरै जनसंख्या बृद्धिदर भएका अन्य ४ जिल्लामा रुपन्देही, चितवन, बाँके र सुनसरी रहेका छन्। हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसंख्या बृद्धिदर देखिन्छ।

स्थानीय तह अनुसारको जनसंख्या वितरण
शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगंज महानगरपालिका हुन् । सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका छन्।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ। २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ।

नेपालको जनघनत्व
नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो। भौगोलिक क्षेत्र अनुसार हेर्दा २०७८ मा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ। २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर थियो।
प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रतिवर्ग किमिमा बसोबास गरेको देखिन्छ जुन २०६८ मा ५६१ रहेको थियो। हाल सबैभन्दा कम कर्णाली प्रदेशमा ६१ जना प्रतिवर्ग किमिमा बसोबास गरेको देखिन्छ। दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा वाग्मती र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै, काठमाडौंमा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रतिवर्ग किलोमिटर र मनाङमा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ। जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौँ जिल्लाहरू हुन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा १० भन्दा कम जनघनत्व रहेको छ। तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६) र पहाडमा रुकुम पूर्व (३५) पर्दछन्।

किन घट्यो जनसंख्या वृद्धिदर, के हुनसक्छ असर

नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून देखिएको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणना पछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ ।

नेपालमा पहिलोपटक १९६८ मा जनगणना भएको थियो । त्यसपछि हरेक १० वर्षमा (कुनै समयबाहेक) राष्ट्रिय जनगणना हुँदै आएको छ । केन्द्रीय तथ्याङ्क विभागकाअनुसार पहिलो जनगणनाको जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियो । त्यसपछि १९७७ मा दोस्रो जनगणना हुँदा नेपालको जनसंख्या वार्षिक रूपमा ०.१२ प्रतिशतले घटेर ५५ लाख ७३ हजार ७८८ रहेको थियो ।
सपछि २०८७ मा भएको तेस्रो राष्ट्रिय जनगणनामा पनि जनसंख्या वार्षिक ०.०७ प्रतिशतले घटेर ५५ लाख ३२ हजार ५७४ रहेको विभागले जनाएको छ । त्यसयता भएको हरेक जनगणनामा नेपालको जनसंख्या वृद्धि भएको छ । विभागले २०७८ मा गरेको जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै २०६८ देखि २०७८ सम्मको नेपालको औसत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै रहेको जनाएको छ । जुन १९८७ को जनगणना पछिकै न्यून हो ।

किन घट्यो जनसंख्या वृद्धिदर ?
२०६८ सालमा भएको जनगणनापछिको १० वर्षमा नेपालको जनसंख्या तीन करोड पुग्ने प्रक्षेपण गरिएको थियो । तर, प्रक्षपण गरिएको जनसंख्या नपुगेको तथ्याङ्कले देखायो । के कारणले अपेक्षित जनसंख्या पुगेन र जनसंख्या वृद्धिदर घट्यो ?

विभागका महानिर्देशक श्रेष्ठकाअनुसार जनसंख्याको प्रक्षेपण गर्दा जन्मदर, मृत्युदर र बसाइसराइलाई आधार मानिन्छ । तर, प्रक्षेपणको नजिकै पुगेको उनले बताए ।

अहिले जन्मदर निकै कम भएको छ । एक जना आमाले दुई भन्दा बढी सन्तान नन्माएको नदिएको उनले बताए । “कसैको ३/४ होला, कसैको २ होला, कसैको १ होला, कसैको शून्य होला । तर, समग्रमा २ जना मात्रै सन्तान भयो,” उनले भने, “त्यसैले हाम्रो जनसंख्या घट्दोक्रममा रहेको देखियो ।”

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग प्रमुख प्राध्यापक डा. चैतन्य मिश्र भने नेपालमा मात्र नभएर विश्वभर नै जनसंख्यामा कमी आएको बताउँछन् । जनसंख्या वृद्धिमा आएको कमीले मुख्यगरी बच्चा पाल्न महँगो भयो भन्ने देखाएको उनले बताए ।

“जन्तान जन्माएपछि पढाउन खर्चिलो भयो । सहर बजारमा बस्ने ठाउँ पाउन गाह्रो भयो, महँगो भयो,” उनले भने, “शिक्षा, स्वास्थ्य महँगो हुँदा बच्चा पाल्ने महँगो भएकाले बाबुआमाले कम बच्चा जन्माएको देखियो ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्