जनादेश, काठमाण्डौं । सरकारले ६० बर्ष माथिका नागरिकहरुलाई बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ ।
डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरेको हो । बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।
पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको परिवार कल्याण महाशाखाकी नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यले जानकारी दिएकी छिन्।