प्रदेश २ मा कोरोना सङ्क्रमित पाँच हजार      – Janadesh Daily | ePaper

प्रदेश २ मा कोरोना सङ्क्रमित पाँच हजार     


अजयकुमार साह,

धनुषा। प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दुई दिनअघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा सङ्क्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताउनुभयो । यता, सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

यता पछिल्लो २४ घण्टामा प्रदेश २ मा १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०÷३०, बारामा तीन, सिरहा र सर्लाही एक/एक गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ पुगेको छ ।

जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा कफ्र्यु   

कोरोनाको उच्च जोखिम भएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा (कफ्र्युु) जारी गर्ने निर्णय गरेको छ । आज रातिदेखि १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्नेे निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रजिअ भट्टराईले निषेधाज्ञाको समयमा तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउनेसमेत जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका बन्द गरिएको बताउनुभयो ।

उहाँले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केवर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटो (दूधमती पुल), दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर, प्रदेशसभा जाने मोडबीचको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि साउन २५ गते आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई भने अत्यावश्यक सेवा राखी कार्य गर्न उल्लेख गरेको छ ।

यस आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्