जनादेश हेल्थ डेस्क।
नेपालमा कोरोना महामारीको तेस्रो लहर चलिहरेको समयमा अर्को सन्त्रास थपिएको छ। मान्छेको समेत मृत्यु गराएको बर्डफ्लु संक्रमण नेपालमै पुनः देखापरेको छ।
पशु सेवा विभागका अनुसार अनुसार मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगा–५ कृषकले पालेको कुखुरामा बर्डफलु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको हो।
‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसको समेत मृत्यु भएको थियो। बर्डफ्लुबाट मृत्यु भएका व्यक्ति काभ्रेका २१ वर्षका युवक थिए। तर उनको परिचय गोप्य राखिएको थियो।
त्यस वर्षको चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएका ती युवक उपचारका क्रममा ५ दिनपछि मृत्यु भएको थियो। मृत्युपश्चात् र्यालको नमुना परीक्षणका लागि जापान पठाइएको थियो भने वैशाख १७ गते आइपुगेको रिपोर्टमा बर्डफ्लु पोजिटिभ देखिएको थियो।
मोरङमा अहिले त्यही किसिमको बर्डफ्लु फैलिएको हो। यसैले पशु सेवा विभागले यसमा सतर्कता अपनाउन अपिल जारी गरेको छ।