नेपाल प्रवेश गर्‍यो डरलाग्दो मौसमी प्रणालीः शनिबारसम्म देशभर मौसमी बदली, वर्षा र हिमपात – Janadesh Daily | ePaper

नेपाल प्रवेश गर्‍यो डरलाग्दो मौसमी प्रणालीः शनिबारसम्म देशभर मौसमी बदली, वर्षा र हिमपात


जनादेश वेदर
देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा साथै गण्डकी, वाग्मती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबारदेखि मौसम पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय
बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा वाग्मती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

शनिबार गण्डकी, वाग्मती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै, उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्