किन दियो डब्ल्युएचओले चेतावनी, कस्तो हो ५७ देशमा फैलिएको ओमिक्रोनको ‘सब भेरियन्ट’ ! – Janadesh Daily | ePaper

किन दियो डब्ल्युएचओले चेतावनी, कस्तो हो ५७ देशमा फैलिएको ओमिक्रोनको ‘सब भेरियन्ट’ !


जनादेश हेल्थ डेस्क।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताएका छन् ।

डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा मङ्गलबार भने, ‘कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।’

“यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक–पटक फरक फरक रूपमा विकसित भएर आएको छ ।” कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने यूरोपेली मूलुकको पहिलो सदस्य राष्ट्र डेनमार्कले मंगलबार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिए कै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उनको यो भनाइ सार्वजनिक भएको हो ।

डेनमार्कसँगै अन्य धेरै देशहरूले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् । टेड्रोसले भने, ‘कुनै–कुनै देशहरूमा खोप र ओमिक्रोनको उच्च सङ्क्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड सङ्क्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो ।’ उनले नियन्त्रणका उपायलाई अझै प्रभाबकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, ‘अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।’

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा करिब नौ करोड व्यक्ति सङ्क्रमित भएको रिपोर्ट छ । यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भएपनि अहिले पनि हामीले संसारका अधिकांश क्षेत्रहरूमा अत्यधिक मृत्युमा घटना देखिइरहेका छन् ।

उनले यो भाइरस पूर्ण सर्नदेखि रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताए । “हामी कुनै पनि देशलाई बन्दाबन्दीमा फर्कन आह्वान गरिरहेका छैनौं,” टेड्रोसले भने । “हामी सबै देशहरूलाई खोप मात्र नभई हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गर्दैछौं ।”

५७ देशमा पुग्यो सव भेरियन्ट, नेपालको समुदायमै

कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन बीए २ मंगलबारसम्म विश्वका ५७ देशमा फैलिएको पुष्टि भएको छ । ओमिक्रोनकै सहायक भेरियन्टको रूपमा रहेको बीए.२, बीए.१ (ओमिक्रोन) जतिकै संक्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

तर, गम्भीरका हिसाबले यो भेरियन्ट ओमिक्रोनभन्दा घातक भने नरहेको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओको कोभिड–१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले कोभिड १९ को पछिल्लो अवस्थाबारे बताउँदै भनेका छन्, “डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ । तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन । यद्यपि बीए.२ ले विश्वव्यापी रूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ ।”

सो क्रममा उनले विभिन्न देशहरूमा बीए.२ बढिरहेको भए पनि अस्पतालमा भर्ना हुनेको संख्या ओमिक्रोनभन्दा बढी नरहेको पनि बताएका थिए । नेपालमा भने ओमिक्रोन बीए .२ समुदायस्तरमा फैलिइसकेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

“यसअघि ओमिक्रोन भेरियन्ट पहिचानको क्रममा एस जिन पोजेटिभ आएका नमुनाहरू ओमिक्रोनको सब भेरियन्ट बीए.२ नै हुन सक्छन् । तर ती ठ्याक्कै पहिचान हुन सकेनन्,” डा. पुनले भने ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्