जनादेश वाच।
आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ।
सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो। रोमन सम्राट क्लाउडियस द्वितीयले नारीसँग हिमचिम बढाएकै कारण दरबारका सैनिकबाट गोप्यता चुहिन सक्ने भन्दै उनीहरूको प्रेम सम्बन्ध र विवाहमै रोक लगाइदिए।
विशाल सेना निर्माणमा लागेका क्लाउडियसले युवाहरूलाई सेनामा भर्ती हुन आह्वान पनि गरे। युद्ध र रक्तपातबाट आजित युवा भर्ती हुन चाहेनन्। झनै आक्रोशित भएका सम्राटले चर्चमा समेत विवाह नगराउन उर्दी जारी गरे।
एक सन्त भ्यालेन्टाइनले शासकको यस्तो क्रूर नियम उल्लंघन गर्दै सैनिकलाई प्रेम गर्न प्रेरित गरे आफैं पनि प्रेममा परे। लुकीछिपी सैनिकको विवाह गराउन उनी सफल भए। पछि उनलाई जेल हालियो। जेलरकी एक छोरी उनलाई भेट्न आइरहन्थिन्। भ्यालेन्टाइनले आफ्नो मृत्युदण्डबारे थाहा पाइसकेका थिए। उनले तिनै जेलरकी छोरीलाई धेरै प्रेम गर्न थालेको उल्लेख गर्दै पत्रको अन्त्यमा लेखेका थिए– ‘फ्रम योर भ्यालेन्टाइन।’
फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। उनलाई कतै झुन्ड्याएर त कतै भिया फ्लेमिनियामा जलाएर मारिएको भनाइ छ। प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले मृत्युवरण गरेको यही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो।
त्यतिबेला सन्त भ्यालेन्टाइन नाम गरेका तीन जना थिए। तीनै जनाले आफ्नी प्रेमिकाकै लागि मृत्युवरण गरेका थिए, फेब्रुअरी १४ मै।
एक थिए रोमका पुजारी। शासकको नियम उल्लंघन गर्दै उनले सैनिक र युवाहरूको बिहे गराउनका साथै प्रेम गर्न उत्प्रेरित गरेका थिए। अर्का भ्यालेन्टाइन सन् १९७ तिर टर्नीमा व्यापार गर्थे। उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए। क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार अर्का भ्यालेन्टाइनचाहिँ अफ्रिकाको एक कम्पनीमा आबद्ध थिए।