जनादेश वेदर।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कुनै उल्लेख्य मौसमी प्रणाली नरहेकाले तराईका भूभागमा हुस्सु लागेको छ भने अन्यत्र मौसम सफा रहेको महाशाखाको भनाइ छ।
आज (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले बताएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति देशका अधिकांश स्थानमा आंशिक बदली रहने र मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
उल्लेखनीय मौसम परिवर्तन नभए पनि बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।