महाशिवरात्रिको रौनकः पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड – Janadesh Daily | ePaper

महाशिवरात्रिको रौनकः पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड


जनादेश अपडेट।

आज (मंगलबार) आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मानइँदै छ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ।

महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन्।

पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ।

महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहान ३ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन्। मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषले जनाएको छ।

कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ। विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।

यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्नेे भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको कोषले जनाएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्