जनादेश दैनिक :
दोस्रो विश्व युद्धमा ध्वस्त पारिएको जापानको हिरोशिमास्थित एक स्मृति पार्कमा सन् १९६४ देखि एउटा बत्ति निरन्तर बलिरहेको छ । यो समस्त जापानीका लागि त्यो दिनको दुःखद् स्मरण र त्यसपछिको समृद्धिको सुखद स्मरणको प्रेरणा बनिरहेको छ । आज पनि जापानी यही शान्ति पार्कमा जम्मा हुँदा देशभर घण्टीहरु एकहोरो र निरन्तर बजिरहेका छन् ।
सन् १९४५ अगष्ट ६ का दिन अमेरिकाको बी–२९ विमानबाट हिरोसिमामा आणविक बम खसालियो । यो नै मानिसले बनाएको आणविक बमको पहिलो प्रयोग र कलंकपूर्ण आणविक नरसंहारको सुरुआत थियो । थियो । यसले हिरोसिमा र यसका वरिपरिका ८० हजार मानिसहरुको ज्यान लियो । अरु दसौं हजार यसको विकिकरणको फैलावटका कारण घाइते र अपांग भए ।
यसको तीनदिन पछि फेरि नागासाकीमा अर्को बम खसालियो । यो पनि अमेरिकी विमानद्वारा । खस्नासाथ यो बमबाट ४० हजार मानिसहरु तत्काल मारिए । यो विश्वमा मानव जातिका लागि एक विभत्स र हृदयविदारक घटनाका रुपमा निन्दित हुन पुग्यो ।
अमेरिकीहरुले यो आणविक बमको कारणले मात्र बल्ल जापानले मानवताका कुरा सुन्यो र आत्मसमर्पण गर्यो । यो आणविक बमका कारणले लम्बिंदो दोस्रो विश्वयुद्ध रोकियो । आश्चर्यको कुरा त के थियो भने अमेरिकाको निशानामा रहेका जापानका पाँचवटा सहरहरुमा नागासाकीको नामै थिएन ।
हिरोसिमा र नागासाकीमा खसालिएका दुईवटा बमहरु भिन्न खालका थिए । हिरोसिमामा खसालिएको ‘लिटल ब्वाय’ युरेनियम–२३५ बाट नाइएको थियो । नागासाकीमा खसालिएको ‘फ्याट म्यान’ प्लुटोनियमबाट बनाइएको थियो । फ्याटम्यान अलि बढी जटिल रुपमा निर्माण गरिएको थियो । यी बमहरुको पहिचान गरिने विशेष नामहरु जस्तो ‘लिटल ब्वाय’ र ‘फ्याट म्यान’ यसका निर्माताहरुले नै दिएका थिए ।
आजसम्म जापानका यी सहरहरुमाथि खसालिएका बमहरु नै सबैभन्दा भयानक थिए भन्ने छ, तर टोक्योमा खसालिएको नापाम बम पड्किंदा एक लाख मानिसहरु मारिएका थिए । अरु लाखौं घाइते तथा अपांग भएका थिए । तथापि पहिलो चोट र पीडाका कारण यी दुई घटनालाई सबैभनदा पीडादायी मानिन्छ ।
बम खसाल्नुभन्दा पहिले अमेरिकाले हिरोसिमा र नागासाकीमाथि पर्चा छरेको थियो । यो जापानी जनतालाई सचेत बनाउनु पनि थियो । तर अंग्रेजी भाषामा छरिएका पर्चाहरु जापानीले कसरी पढ्न सक्थे र तत्कालै त्यति ठूलो अणु बमको प्रभाव क्षेत्र काटेर जान सक्थे ? यो अमेरिकाको धूत्र्याइँपूर्ण कुटनीति मात्र थियो ।
बम वर्षाले हिरोसिमालाई एक निर्जन बस्तीका रुपमा रुपान्तरण गर्यो । त्यहाँ एकजना पनि जिउँदो मान्छे रहेन । मान्छेको छायाँ त्यहाँ देखिएन । यी दुई बमहरुले द्वितीय विश्वयुद्ध रोके भन्ने भनाइलाई छेकबारको रुपमा प्रयोग गरेर अमेरिकाले आजसम्म मानवअधिकारको मुखुण्डो जोगाइरहेको छ ।
यी दुई बमहरुले एक लाख पचास हजारदेखि दुईलाख ४० हजार मानिसको ज्यान लिए ।