कोरोनाको बढ्दो सङ्क्रमणका बीच काँङ्ग्रेसको क्रियाशील सदस्यता अभियान    – Janadesh Daily | ePaper

कोरोनाको बढ्दो सङ्क्रमणका बीच काँङ्ग्रेसको क्रियाशील सदस्यता अभियान   


नारायण अधिकारी, 

चितवन,

कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली काँग्रेस जुटेको हो ।

काँग्रेसले यसअघि रहेको क्रियाशील सदस्य सङ्ख्यामा ५० प्रतिशत सङ्ख्या थप गर्न र नवीकरणका लागि वडा तहमा काम गरिरहेको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडामध्ये धेरैले पुरानो क्रियाशील सदस्य नवीकरण र थप क्रियाशील सदस्य वितरण सम्पन्न गरी नगर समितिमा पठाइसकेका छन् ।

यो महिनाभित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा क्रियाशील सदस्यको सङ्ख्या पठाइसक्नुपर्ने हुन्छ । श्रेष्ठले भन्नुभयो, “कोरोनाको जोखिमका कारण उच्च सावधानी अपनाउँदै वडा तहमा काम भइरहेको छ ।” ठाउँठाउँमा पार्टी प्रवेशको लहर पनि चलेको उहाँले बताउनुभयो ।

लकडाउन खुलेसँगै यसअघि रोकिएको क्रियाशील सदस्यको काम शुरु भएको हो । यस अवधिमा जिल्लामा ५०० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि २० हजार ४०० क्रियाशील सदस्य थिए । पुनः १० हजार २०० सदस्य थप हुँदै छन् । कतिपयले नवीकरण नगर्ने हुँदा २८ हजारको हाराहारीमा क्रियाशील सदस्य हुने श्रेष्ठ बताउनुहुन्छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिवेशन प्रतिनिधि र ६ प्रदेशबाट १७ जनाका दरले १०२ प्रदेश प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशील सदस्य बनेको १० वर्ष पुगेको हुनुपर्छ ।

नेपाली काँग्रेसको चितवनमा वडाको निर्वाचन पुस ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ । माघमा प्रदेशको र फागुन ७ गते केन्द्रीय महाधिवेशन हुँदैछ ।

जिल्लामा नेतृत्वका लागि जिल्ला नेताले दौडधुप शुरु गरेका छन् । जिल्लाभरबाट क्रियाशील सदस्यले निर्वाचित गरी पठाएका दुई हजार ७०० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिनेछन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्