जनादेश वाच।
सरकारले स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ४ वटा सुरक्षा अङ्गले प्रस्ताव गरेको योजनालाई परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको हो त्यसैगरी, विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा सेनाले पाएको छ ।
मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरीमा सेनाका फौज तैनाथ राख्ने र सेनाको बम डिस्पोजल टोली परिचालन गरिने बताइएको छ ।
स्थानीय तह निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ ।
कुन सुरक्षा संगठनलाई कसरी परिचालन गरिने भन्नेबारे केन्द्रीय सुरक्षा समितिले मापदण्ड तयार गरेर राष्ट्रिय अनुसन्धान विभाग सहित चारवटै सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।