जनादेश वेदर।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, वायु प्रदूषण तथा अन्य मानवीय गतिविधिका कारण नेपालको विभिन्न स्थानमा अहिले मौसम धूमिल बनेको विज्ञहरूले बताएका छन्। ठूलो वा मध्यम वर्षा नभएसम्म मौसम धुम्म रहने जल तथा मौसम विभागले जनाएको छ।
आगामी केही दिन नेपालको कतिपय स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
विभागले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्क रहन चेतावनी समेत दिएको छ।
“तर हल्का वर्षाले प्रदूषण घटाउँदैन। प्रदूषण जम्मा भएको छ, तापक्रम बढ्दो छ, राम्रो हावा चलेको छैन र ठूलो वर्षा भएको छैन। त्यसैले उपत्यकाजस्ता ठाउँहरूमा मौसम धुम्म हुने क्रम निरन्तर केही दिन चल्छ,” विभागकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्।
मौसम किन धुम्म छ?
अर्की मौसमविद् इन्दिरा कँडेलले पनि वायु प्रदूषणका कारण मौसम बिग्रिएको बताइन्।
“सुक्खा मौसममा सबैतिरबाट धुलो वायुमण्डलमा जम्मा हुन्छ। यस समयमा लाग्ने डढेलो, सवारी साधनबाट निस्कने लगायत औद्योगिक धुवाँ पनि त्यहीँ मिसिन्छ र आकाश धुम्म हुन्छ,” उनले भनिन्।
वर्षाको सम्भावना
भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।
विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।