सामाजिक सञ्जालको सामरिक संघर्षः टिकटकविरुद्ध फेसबुकले ठूलो षडयन्त्र गरेको खुलासा ! – Janadesh Daily | ePaper

सामाजिक सञ्जालको सामरिक संघर्षः टिकटकविरुद्ध फेसबुकले ठूलो षडयन्त्र गरेको खुलासा !


जनादेश वाच।

केही समयअघि फेसबुकको कम्पनी ‘मेटा’ ले एक राजनीतिक परामर्श फर्म, ‘टार्गेटेड भिक्ट्री’ लाई टिकटकलाई तल खसाल्ने अभियान सञ्चालन गर्न पैसा दिएको आरोप लगाइएको थियो जसबारे उक्त फर्मका कार्यकारी प्रमुखले प्रतिक्रिया दिएका छन् ।

वासिङटन पोस्टले हेरेको आन्तरिक इमेलहरुमा सो फर्म, अमेरिकी बालबालिकाहरुका लागि टिकटक डरलाग्दो हुन सक्ने अभियानमा लक्षित रहेको देखिएको थियो ।

फर्मका प्रमुख ज्याक मोफटले भने पोस्टको यो रिर्पोटले आफूहरुको कामलाई गलत ढङ्गमा प्रस्तुत गरेको र यसमा ठहर गरिएका कुरा सरासर झुटा भएको ट्वीट गरेका छन् ।

यसपछि बीबीसीले कम्पनी मेटालाई यो मुद्दामा बोल्न सम्पर्क गरेको थियो जसमा त्यहाँका प्रवक्ताले यस्तो भने, “हामी के विश्वास गर्छौँ भने टिकटक सहित सबै प्लेटफर्मले बढ्दो सफलतासँगै कुनै न कुनै स्तरको छानबीनको सामना गर्नैपर्ने हुन्छ । ”

वासिङटन पोस्टमा लेखिएको छ, फर्मको ‘बेर–नकल’ भन्ने अभयिानमा अमेरिकी क्षेत्रीय समाचार आउटलेट्सका सम्पादकहरुलाई आफ्ना न्युज साइटमा टिकटक ट्रेन्ड सम्बन्धी नकारात्मक कथाहरुलाई प्रचार गर्ने टिप्पणी राख्न पत्र लेखिएको थियो जुन वास्तवमा फेसबुकबाट नै उत्पति भएको पाइएको छ । तर यसमा उनीहरुले मेटासँगको संलग्नताबारे भने कतै उल्लेख गरेका छैनन् ।

यसको प्रतिक्रियामा मोफटले ट्वीट गर्दै भने, “यसमा के भन्न खोजिएको छ भने सम्पादकहरुलाई लेखिएको पत्रका शब्दहरु वास्तवमा त्यसका लेखकका आफ्नै होइनन् न उनीहरुलाई यसमा मेटा कम्पनीको संलग्नता बारे थाहा थियो । तर यो गलत हो ।”

अन्य आन्तरिक इमेलमा हेर्दा पनि टार्गेटेड भिक्ट्री फर्मले आफ्ना पार्टनरहरुलाई टिकटकका डरलाग्दा ट्रेन्डसँग सम्बन्धित लेखहरु स्थानीय मिडियासम्म पुर्याउन अनुरोध गर्दै आएको देखिएको छ ।

वासिङटन पोस्टले हेरेको एक इमेलमा टार्गेटेड भिक्ट्रीका स्टाफले ‘नृत्यदेखि खतरासम्म ः टिकटक कसरी बालबालिकाहरुका लागि सबैभन्दा हानिकारक सामाजिक संजाल बनिरहेको छ’ भन्ने जस्ता शिर्षकका लेख सबैभन्दा उत्तम हुने भनेर लेखेका छन् ।
यसरी टार्गेटेड भिक्ट्रीले टिकटकसँग सम्बन्धित खतरनाक ट्रेन्डहरुको रिपोर्टलाई ठूलो बनाएर प्रचार गर्न प्रोत्साहन गरेको आरोप लगाइएको छ । यसमा ‘डेभियस लिक्स च्यालेन्ज’ भन्ने ट्रेन्डबारे उल्लेख गरिएको छ जसमा बच्चाहरुलाई स्कुलको सम्पति बिगार्न र भत्काउन उक्साइन्छ । त्यस्तै शिक्षकलाई झापड हान्ने च्यालेन्जबारे पनि रिपोर्टमा लेखिएको छ ।

तर न्युज साइट इन्साइडरले गरेको अनुसन्धानमा यस्तो च्यालेन्ज कतै नभएको पत्ता लागेको हो ।

पोस्टका अनुसार पत्रकारिता खोजका क्रममा ती च्यालेन्ज सम्बन्धी लेख र कथाहरु पहिले फेसबुकबाट नै फैलन सुरु भएको पाइएको थियो ।

यस्तोमा अमेरिकी शिक्षक युनियनका प्रमुखले डेभियस लिक्स जस्ता च्यालेन्जको प्रचार गरि अमेरिका भरका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई तर्साएको फर्ममाथि आरोप लगाएका छन् ।

यस किसिमका चिन्ताबारे टिकटक आफैँले पनि उल्लेख गरेको थियो । उक्त लेख प्रकाशित भइसकेपछि कम्पनीले बीबीसीसँग कुरा गर्दै आफ्ना प्लेटफर्ममा ती च्यालेन्जहरु नहुँदा समेत यसले वास्तविक जीवनमा प्रभाव पारिरहेको बताएको छ ।

तर मोफटको ट्वीटमा चाहिँ वासिङटन पोस्ट आफैँले टिकटकका अनुचित च्यालेन्जहरुबारे रिपोर्ट गरेको दाबी गरिएको छ ।

२०१६ मा मोफटले ‘ट्रेन्डिङ टपिक फिचर’ मा हस्तक्षेप गरेको र फेसबुक सम्बन्धी प्रगतिशील धारणालाई मात्र प्रचार गरेको आरोपपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग एक हाइ–प्रोफाइल बैठक अन्र्तगत भेटेका थिए जसलाई टार्गेटेड भिक्ट्रीले अस्वीकार गर्दै आएको छ ।

यसअघि २०१८ मा द न्यु योर्क टाइम्सले पनि फेसबुकका शंकास्पद गतिविधिबारे खुलासा गरेको थियो । यसमा फेसबुकले भाँडामा लिएको ‘पब्लिक रिलेसन्स’ कम्पनी, डिफाइनर्सले फेसबुक विरोधी अभियान चलाउने समुह ‘फ्रिडम फ्रम फेसबुक’ लाई फाइनान्सर जर्ज सोरोसले सञ्चालन गरिरहेको भन्ने गलत दाबी फैलाएको थियो ।

पछि यस खबर सम्बन्धी जुकरबर्गसँग प्रश्न गर्दा उनले डिफाइनर्सको यस्ता कदमबारे आफूलाई केही थाहा नभएको र आफ्नो कम्पनी अब सो फर्मसँग काम नगर्ने बताएका थिए ।

विविसीबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्