जनादेश दैनिक :
नेपालमा भएको कोरोना महामारीको संक्रमणलाई केवल आयातित मात्र ठान्ने मानसिकताले यसको रोकथाममा समस्या उत्पन्न गराएको छ । सरकार र सरकारमा रहेका जिम्मेवार नेताहरु कोरोना केवल बाहिरबाट आउँछ, नेपालमा छैन भनी गलत मनोविज्ञान बनाएर बसेको देखिन्छ । यो स्वास्थ्यसम्बन्धी मान्यतामा रहेको अज्ञानता हो ।
यसो मात्र सोच्नु विषय विशेषज्ञताको अभाव हो । साथै विषय विशेषज्ञले दिएका सुझाव र विशेषज्ञताको उपहास पनि हो । किनकि कारोना महामारी आफैमा प्यान्डेमिक वा महामारी हो । यो विश्वव्यापी छ । हावा, धूलोका कण, पानी, ढलनिकास, ट्वाइलेट, उपभोग्य समानहरु आदिजस्ता माध्यमबाट पनि यो सिजलैसँग सर्ने गरिरहेको हुन्छ भनी विश्वव्यापी रुपमा सतर्क रहन सार्वजनिक अनुरोध समेत् गरिएको छ ।
काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट नआइदिए काठमाडौं सुरक्षित रहने काठमाडौंका मेयरको भनाइ र नेपालका बोर्डरहरु सिल गरे नेपाल जोगिने सरकारी भनाइमा उही अज्ञानता देखिन्छ । कोरोना महामारी विश्वमा फैलिएको ९ महिना पूरा भैसकेको छ । विश्वको कुनै पनि भाग जोगिन सम्भव छैन ।
नेपालमा त झन् चीन र भारतजस्ता ठूला कोरोना संक्रमित छिमेकी देशहरु रहेकाले संसारभर फैलिएको कोरोना महामारी जसरी पनि पसिहाल्छ । पसिसकेको पनि छ । नेपालमा गाउँमा जनस्तरमा र सहरमा समूह तथा क्याम्पहरुमा पसिसकेको छ । टोलटोलमा पसिसकेको छ ।
यस्तो अवस्थामा पीसीआर परीक्षण व्यापक बनाउने र संक्रमितहरुलाई क्वारेन्टाइन र आइसोलेशनमा राख्ने प्रक्रिया नै व्यापक बनाउनु पर्छ । अरुलाई दोष दिने, बाहिरबाट आउँछ भनी कारण र समस्या आफूभित्र नखोज्ने प्रवृत्तिको अन्त्य गरिनु जरुरी छ ।
सरकारले पीसीआर परीक्षण आम बनाउनु जरुरी छ ।