उपत्यकाका सीडीओको संयुक्त बसाइ : ‘प्रभावित इलाका सिल गरिने’ – Janadesh Daily | ePaper

उपत्यकाका सीडीओको संयुक्त बसाइ : ‘प्रभावित इलाका सिल गरिने’


जनादेश दैनिक :

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन खुकुलो गर्ने तर स्थानीय विशिष्टता अनुसार यसलाई प्रयोगमा ल्याउन सकिने बताएको भोलिपल्ट शुक्रवार काठमाडौं उपत्यकामा रहेका तीन जिल्लाका सीडीओ संयुक्त रुपमा वैठक बसेर आवश्यकता अनुसार प्रभावित स्थानीय इलाकामा लकडाउनसम्म हुन सक्ने निर्णय गरेका छन् ।

लकडाउन खुकुलो पारिए पनि मानवजन्य क्रियाकलाप, आवतजावत र हिंडडुलमा कडाइ यथावत राखिनु पर्ने प्रमुख जिल्ला अधिकारीहरुको समान धारणा रहेको छ । उपत्यकामा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक संयुुक्त रुपमा बसेको थियो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार ‘जहाँँ संक्रमण, त्यहाँ सिल’ गरिने नीति अख्तियार गरिने भएको छ । यो नीति अनुसार पहिलो पटक काठमाडौंका टेकु र महाबौद्ध एरिया सिल गरिने भएका छन् ।

मानिसको भिडभाड हुने सपिङ मल, व्यापारिक प्रतिष्ठान, चोक, होटल आादिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने पनि बताइएको छ । यसमा सामाजिक दुरी, स्यानीटाइजरको प्रयोग, मास्क, पञ्जा तथा सतर्कतालाई प्राथमिकतामा राखिएको छ ।

काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको बेला क्वारेन्टाइन र आइसोलेसनको अभाव हुन सक्ने चिन्ता जाहेर भैरहेका बखत उपत्यकाका तीन वटै जिल्लामा थप व्यवस्था गरिने निर्णय पनि भएको बुझिएको छ । लकडाउन खुकुलो पारेसँगै संघीय सरकारले कोरोना नियन्त्रणको जिम्मा स्थानीय निकायलाई दिएपछि उपत्यकाका प्रजिअहरुको यो पहिलो संयुक्त बैठक बसेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्