सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन ः रायमाझी  – Janadesh Daily | ePaper

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन ः रायमाझी 


अर्घाखाँची,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।” सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प छैन भन्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्