बत्तीस वर्षका बालेनः जनताले जसरी जिताए त्यसरी नै माग्नेछन् डेलिभरी, सुरु भो वास्तविक परीक्षा – Janadesh Daily | ePaper

बत्तीस वर्षका बालेनः जनताले जसरी जिताए त्यसरी नै माग्नेछन् डेलिभरी, सुरु भो वास्तविक परीक्षा


जनादेश वाच।

काठमाडौं महानगरपालिका नेतृत्व युवाको हातमा पुगेको छ। यही वैशाख ३० गते सम्पन्न निर्वाचनमा दुई युवाहरु बालेन शाह र सुनिता डंगोलले प्रतिस्पर्धीलाई निकै फराकिलो मतान्तरसहित पराजित गरेका हुन्। प्रारम्भिक मतगणनाकै क्रममा उनीहरुको जित स्पष्ट भइसकेको थियो। अन्तिम मतपरिणामले त्यसलाई औपचारिकता दिएको मात्रै हो। अन्तिम मत परिणाममा मेयर उम्मेदवार बालेनले ६१ हजार ७६७ मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र एमाले उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाए।

महानगरवासीले भारी मतले पत्याएका उनको परीक्षण हुन बाँकी छ। प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितभन्दा दुई गुणा मत ल्याएर उनी महानगरको नेतृत्व सम्हाल्दै छन्। बालेनले मेयरमा उम्मेदवारी दिएदेखि उनीबारे सकारात्मक र नकारात्मक टिप्पणी भएका थिए। उनले कांग्रेसकी उम्मेदवार सिंह र एमालेका स्थापितको केही मत काट्छन् भन्ने मात्रै आकलन भएका थिए।

प्रमुख भनिएका दलका प्रतिनिधिलाई सीमित व्यक्तिमाझ परिचित र्‍याप गायक तथा इन्जिनियरले हराउलान् भन्ने थोरैलाई मात्रै लागेको थियो । बालेनको दल छैन, संगठन छैन, मेयरको उम्मेदवारको लागि रहर मात्रै गरेका हुन् भन्नेहरू पनि थिए। उनी काठमाडौँ महानगरमा मतदाता नभएका युवा र सामाजिक सञ्जालमा मात्रै भाइरल भएका हुन् मेयरचाहिँ सिर्जना वा स्थापितमध्ये एक हुन्छन् भनेर विश्लेषण पनि नभएका होइनन्। तर, ०७४ को निर्वाचनमै मेयरमा उम्मेदवारी दिने तयारी गरेका बालेनले यो पाँच वर्षमा आफूलाई तयारी गरेर चुनावमा उठेका रहेछन् भन्ने उनको मतपरिणामले पुष्टि गरिदिएको छ।

वैशाख ३० गते मतदानको दिन मतदानस्थल र केन्द्रमा देखिएको बालेनको लोकप्रियताले मुख्य दलबाट प्रतिनिधित्व गरेका उनका प्रतिस्पर्धी उम्मेदवार र दल र उम्मेदवारका खास कार्यकर्ता हच्किएका थिए भने स्थानीयले बालेनले जित्छन् भनेर अड्कलबाजी लगाउन थालेका थिए। मतदानको दिन मतदान केन्द्रमा कुरा गर्न चाहने र फोटो खिच्न चाहने समर्थकले घेरेपछि बालेन भाग्दै एकपछि अर्को मतदान स्थल पुगेका थिए। उनी महानगरका सबै वडा पुगेका थिए। मतदान केन्द्रमा बालेनलाई हेर्न मात्रै पुग्नेहरू पनि थिए। बालेन मतदान केन्द्रमा पुगेपछि उनको चुनाव चिह्न लौरोमा भोट हाल्नेहरू बढेका थिए पनि भनिएको थियो। चुनावी प्रचार र मतदानको दिन उनलाई मिलेको लोकप्रियताभन्दा पनि धेरै उनले महानगरवासीको मत पाएका छन्।

राष्ट्रिय सभागृह बाहिर भेला भएका बालेनका समर्थकले मतगणना सुरु भएदेखि नाराजुलुस लगाउन सुरु गरेका थिए। मतगणना चल्दै जाँदा बालेन धेरै मतान्तरले अगाडि हुन थालेपछि समर्थकको ओइरो लाग्न थालेको थियो जुन प्रहरीलाई थेगिनसक्नुभएको थियो। काठमाडौँको मेयर बन्ने पक्का भएका बालेनका समर्थकले उनको बृहत् विजयी जुलुस निकाल्ने तयारी गरेका छन्। यद्यपि, बालेनले आफूले महानगरमा राम्रो काम गर्न सकेको खण्डमा खुसीयाली मनाउने प्रतिक्रिया दिएका छन्।

राजनीतिक दलले गतिलो र आशालाग्दो प्रतिनिधि उठाउन नसक्दा स्वतन्त्र उम्मेदवार बालेनलाई परीक्षणका लागि नेतृत्व सुम्पिएको महानगरवासी बताउँछन्। काठमाडौँ महानगरपालिका–१४ बबरमहल बस्ने दुर्गा सिलवालले आफू कांग्रेस समर्थक भए पनि बालेनलाई मतदान गरेको बताइन्।

कांग्रेसले सक्रिय उम्मेदवार उठाउन नसक्दा सक्षम युवा इन्जिनियरले महानगरको मुहार फेर्छन् कि भन्ने आसले बालेनलाई भोट दिएको उनको भनाइ छ।

उनले भनिन्, ‘मतदान गोप्य राख्नुपर्ने हो तर मैले बालेनलाई मत दिएको सार्वजनिक गर्दा अप्ठ्यारो पर्दैन, महानगरवासीले मतले पत्याइदिएजस्तै उनले काम गरेर महानगरवासीको मन जित्नुपर्छ।’
सिलवाल प्रतिनिधि पात्र मात्रै हुन्। बालेनसँग महानगरवासी धेरैले अपेक्षा राखेका छन्। तर, उनले जिम्मेवारी बहन गर्दा उनको लोकप्रियता आफँैलाई बोझ नहोला भन्न सकिन्न।

मुलुकको बोझिला र झन्झटिला कर्मचारीतन्त्रसँग बालेन कति परिचित छन् वा छैनन् त्यो भने हेर्न बाँकी नै छ। राजनीतिक दलबिनाका स्वतन्त्र व्यक्तिलाई विकासका योजना अघि बढाउन र त्यो पारित गराएर कार्यान्वयन गर्न समस्या हुन सक्छ। महानगरपालिकाका ३२ वटा वडामा जितेकामध्ये कांग्रेस, एमाले वा अन्य कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्। उनीहरू सबैले बालेनलाई सहयोग गर्छन् नै भन्ने पनि छैन। फरक राजनीतिक दल भएका कारण एक अर्को वडाकै जनप्रतिनिधिबीच विवाद हुँदा बालेनलाई असहयोग भयो भने त्यसलाई मिलाएर लैजान पनि उनलाई चुनौती हुन सक्छ।

वडा प्रमुखहरू शक्तिशाली हुन्छन्, शक्तिबीच टसल पर्दा समन्वय गर्ने कुशलता बालेनसँग कति छ त्यो परीक्षण हुन बाँकी छ। दलहरू सकारात्मक नहुँदा उनलाई अप्ठ्यारो पर्ने पक्का छ किनकि बालेनसँग राजनीतिक दलमा आबद्ध भएर काम गरेको अनुभव छैन। विकास जादुको छडी नभएका कारण महानगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सपना देखेजस्तै वा उनले बोलेजस्तै गरी काम गर्न सक्छन् भन्ने पनि ग्यारेन्टी छैन तर बालेन स्थानीयको आशा र भरोसा बनेपछि राजनीतिक दलहरू भने सुध्रिन बाध्य हुनेछन्।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्