जनादेश वाच।
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहलाई पहिलो काममा सफलता मिलेको छ। काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएपछि बालेनले पहिलो काममा कठिन संघर्षले सफलता हात पारेका हुन्।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो। सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।
हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए। यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ।
यसका लागि काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ। असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ। यसबीच काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोष्ट मलमा परिणत गर्न ठाउँ खोज्नेछ।
काठमाडौंमा फोहोर संकलन र ढुवानीको जिम्मा निजी कम्पनीहरूले लिँदै आएका छन्। यसमा ७९ वटा कम्पनी संलग्न छन्। तिनै कम्पनीलाई ठाउँअनुसार कुहिने फोहोर संकलन गरी स्टोर गर्ने र मल बनाउने जिम्मा दिइनेछ।
सत्र वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ। यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने बोहोराले जानकारी दिए। प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ।
काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ।
अहिले यहाँका स्थानीयले बञ्चरेडाँडा डम्पिङ साइट सञ्चालन गर्न तीन हजार पाँच सयदेखि चार हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने कुरा उठाउँदै आएका छन्। सिसडोलका हकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र डम्पिङ साइट बन्द गर्न प्रक्रिया सुरू गरिने प्रतिबद्धतापत्रमा छ। सिसडोल तथा बञ्चरेमा फोहोर नगन्हाउने व्यवस्था मिलाउने र सिसडोलको फोहोरबाट निस्केको दूषित पानी (लिचड) तत्काल व्यवस्था गरिनेछ।
सहमतिअनुसार जेठ २४ गते मंगलबारबाट उपत्यकाको फोहोर बञ्चरेडाँडा डम्पिङ साइटमा विसर्जन गर्न ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमा लगायत विकास निर्माणको सहमति पनि भएको छ।
त्यस्तै नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपणका लागि १ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिनेछ।
वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरका उपमेयर मन्जली शाक्य, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, बञ्चरेडाँडा आयोजना निर्देशक रवीन्द्र बोहोरा लगायतको सहभागिता थियो।