अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर ः काँग्रेस    – Janadesh Daily | ePaper

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर ः काँग्रेस   


काठमाडौँ,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरी जीवनरक्षा गर्न अपिल गर्नुभएको हो । साथै उहाँले कोरोनाविरुद्धको सङ्घर्षमा बढेको चुनौती सामना गर्ने ढङ्गले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग मागसमेत गर्नुभएको छ ।

कोरोनाविरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न काँग्रेसले शुरुआतदेखि नै विभिन्न सुझाव र मागअघि सार्दै आएको उल्लेख गर्दै उहाँले पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइलगायतका माग पुनःदोहो¥याउनुभएको छ ।

जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको आरोप लगाउँदै उहाँले परिणाममा सरकारकाविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शन हुनु स्वाभाविक भएको बताउनुभएको छ । प्रवक्ता शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्