बालेनको मिसनमा बल्ल सफलताः फोहोर रातिमात्र लैजान पाउने गरी सहमति (सहमति पत्रसहित) – Janadesh Daily | ePaper

बालेनको मिसनमा बल्ल सफलताः फोहोर रातिमात्र लैजान पाउने गरी सहमति (सहमति पत्रसहित)


जनादेश वाच।
काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयबासी काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरुको उपस्थित थियो।

बिगत केही दिनदेखि स्थानीयबासीले काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याडफिल साइडमा लैजान रोक्दै आएका थिए। फोहोर व्यवस्थापन सम्बन्धी केही दिन अघि भएको सम्झौता पनि स्थानीयले मानेका थिएनन्।

रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ।

यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने छ।

फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ। फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने पनि सहमति भएको छ।

फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने पनि सहमति भएको छ ।

फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्