युभेन्टसलाई लियोनको चुनौती – Janadesh Daily | ePaper

युभेन्टसलाई लियोनको चुनौती


एजेन्सी

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा शुक्रबार राति इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुँदैछ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित युरोपको क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियनस लिग झन्डै साढे पाँच महिनापछि सुचारु हुन लागेको हो । कोरोनापछि युरोपका घरेलु लिग सम्पन्न भएसँगै च्याम्पियन्स लिग शुक्रबारदेखि शुरु हुन लागेको हो । प्रि-क्वाटरफाइनलका बाँकी दुई खेल शनिबार राति हुनेछ ।

युभेन्टसले घरेलु मैदान एलिएन्ज एरिनामा लियोनलाई आतथ्यिता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो लेगमा १–० को हार भोगेका कारण युभेन्टसलाई अघिल्लो चरण प्रवेश गर्न निश्चित जितको खाँचो छ । त्यसैले युभेन्टस जितको लक्ष्यसहित मैदानमा उत्रनेछ । युभेन्टसलाई कम्तीमा पनि २–० को जितको खाँचो छ । १–० को जितले युभेन्टसको आशा जीवितै हुनेछ । बराबरी या हारले युभेन्टसको यात्रा सकिनेछ ।

कोरोनापछि शुरु भएको सिरी ‘ए’ मा औसतको प्रदर्शन गरेपनि च्याम्पियन बनेको युभेन्टसको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो नै मुख्य हतियार हुनेछ । रोनाल्डोलाई गोन्जलो हिगुआइन, मिरालेम प्यानिच, एलेक्स सान्द्रो म्याथ्थिज डि लेग्ट, लियोनार्दाे बोनुची र जुवान कोर्डाडोले साथ दिनेछन् । चोटका कारण पाउलो डिबाला, डगलस कोस्टा र सामी खेडिरा टोलीमा नहुने सम्भावना छ ।

यता, लियोन पनि पहिलो लेगमा लिएको अग्रता जोगाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । लियोनले घरेलु मैदानमा युभेन्टसलाई १–० ले स्तब्ध पारेको थियो । लियोनका लागि मेम्फिस डिपाए, मोउसा डेम्वेले र ब्रुनो गुइमारेसजस्ता खेलाडीको साथ रहनेछ । यि दुई टोली हालसम्म ६ पटक आमनेसामने हुदा युभेन्टसले ४ खेल आफ्नो पक्षमा पार्दा एक खेल लियोनले जित्दा १ खेल बराबरीमा सकिएको छ ।

यसबीचमा लियोनका कप्तान मेम्फिस डिपाएले युभेन्टसविरुद्ध निडर भएर उत्रने बताएका छन् । लियोनले यसै साता कप डे ला लिगको फाइनलमा पीएसजीसँग टाइब्रेकरमा पराजय भोगेको थियो । झन्डै ५ महिनापछि मैदान फर्केको उक्त खेलमा लियोनले औसत प्रदर्शन गर्यो । कोरोनाभाइरसका कारण फ्रान्सेली लिग रद्द हुँदा च्याम्पियन्स लिगको खेलहरु भने स्थगित भएको थियो ।

युभेन्टसले भने पछिल्लो दुई महिना लगातार खेल्दै नवौं लिग उपाधि पक्का गरिसकेको छ । अघिल्लो सातामात्र सकिएको लिगमा युभेन्टसले अन्तिम खेलहरु भने सोचेअनुरुप प्रदर्शन गर्न सकेन । लिगका अन्तिम ८ खेलमध्य युभेन्टसले २ खेलमा मात्र जित हासिल गर्यो । मुख्य खेलाडीहरु विश्रामपछि तयार रहेको हुँदा युभेन्टसलाई केहि फाइदा हुने डच फरवार्ड डिपाएको बुझाइ छ ।

‘मैले पहिलो लेगको खेल चोटका कारण बाहिर बसेर हेर्नुपरेको थियो । उक्त खेलमा टिम स्पिरिट देखेर म निकै खुसी थिएँ,’ उनले भने, ‘ उक्त खेलमा युभेले राम्रो खेलेको थिएन । अहिले भने स्थिति फरक छ । उनीहरु लगातार खेलिरहेका छन् । हामीभन्दा बढी खेल खेलेका छन् र विगतभन्दा फरक परिस्थिति रहेको छ ।’

डिपाएले प्रतिकुल परिस्थितिका कारण आफूलाई व्यक्तिगत रुपमा भने केहि राहत मिलेको बताए । ‘यो विश्रामका कारण मैले फेरी च्याम्पियन्स लिग खेल्न पाएको छु । म तयार छु,’ उनले भने, ‘ नयाँ नियमअनुसार अब खेलहरु एक लेगको मात्र हुनेछन् । त्यसैले कोहि पनि खेल जित्न दाबेदार भन्ने अवस्था हुने छैन ।’

‘युभेन्टसमा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ । हामी युवा खेलाडी छौं र यस्तो ठूलो प्रतियोगिताको अनुभव खासै पाएका छैनौँ । फाइनल नजिकिंदै जाँदा दबाब पनि बढ्नेछ,’ डिपाएले भने, ‘हामी आफ्नो तर्फबाट पूर्ण रुपमा तयार छौँ । हामीलाई गुमाउनु केहि छैन त्यसैले निडर भएर अघि बढ्नेछौं ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्