रुटिन अफ नेपाल बन्दलाई १ करोड दिएको काण्ड के हो ? बालेन साहको जवाफ – Janadesh Daily | ePaper

रुटिन अफ नेपाल बन्दलाई १ करोड दिएको काण्ड के हो ? बालेन साहको जवाफ


जनादेश वाच।

काठमाडौं महानगरका मेयर बालेन शाहले आउँदो आर्थिक वर्षका लागि महानगरले ई-स्पोर्ट्सका लागि छुट्याएको एक करोड बजेट कुनै अमुक संस्था र खेलका लागि नभएको स्पष्टीकरण दिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने बताएका छन्।

उनले लेखेका छन्- सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेको प्रसंगका विषयमा ध्यानाकर्षण भएको छ। ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बौंको आर्थिक योगदान गर्ने विधा हो। नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो। कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन।

उनले यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रूपमा आफ्नो नाम जोडिएका समाचारको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न/गराउन पनि अनुरोध गरेका छन्।

के हो महानगरले एक करोड बजेट छुट्याएको ई-स्पोर्ट्स?
काठमाडौं महानगरपालिकाले ई-स्पोर्ट्सका लागि एक करोड बजेट बिनियोजन गरेको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ। कतिपय मिडियाले बजेटको विषयलाई फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’सँग जोडेर समाचार प्रकाशित गरेका छन्। रूटिन अफ नेपाल बन्दले उक्त समाचार खण्डन छ।
काठमाडौं महानगपालिकाका मेयर बालेन शाहका स्वकिय सचिव भुपदेव शाहले पनि कुनै निश्चित कम्पनीका लागि बजेट नछुट्याइएको बताए। उनका अनुसार काठमाडौं महानगरले अन्तर्राष्ट्रिय स्तरको ई-स्पोर्ट्स प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो।

‘ई-स्पोर्ट्सको सञ्जाल बढिरहेको छ। धेरैले यसमा करिअर समेत बनाइरहेका छन्। व्यवसायिक रूपमा खेल्न थालिएको छ। मानिसहरू परम्परागत खेलबाट ई-स्पोर्ट्समा सिफ्ट भइरहेका छन्। यो विषयमा अध्ययन गरेपछि ई-स्पोर्ट्स प्रतियोगिताका लागि बजेट छुट्याएको हो,’ शाहले भने।

उनले प्रतियोगिताको आयोजक महानगरपालिका हुने बताए। प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने संस्थासँग समन्वय गरिने उनको भनाइ छ। मेयर बालेन शाहले चुनाव अघि आफ्नो घोषणापत्रमै ई-स्पोर्ट्सका लागि काम गर्ने उल्लेख गरेका थिए। बजेट छुट्याउनुअघि बालेनले अन्य देशका ई-स्पोर्ट्स टिम कसरी नेपाल ल्याउन सकिन्छ भनेर परामर्श गरेका थिए। भारतका चर्चित गेमरको खेलाडीको लाइभ स्ट्रिमिङमै एक लाख बढी भ्यू हुने र उनीहरूलाई ल्याएर खेलाउन सकिए भारतमा काठमाडौंबारे सकारात्मक सन्देश जाने महानगरको योजना छ।

नेपालमा ई-स्पोर्ट्स खेल्ने दर्ता भएका दुई दर्जन बढी टिम छन्। उनीहरूले काठमाडौं महानगरले आयोजना प्रतियोगितामा भाग लिन सक्नेछन्। ‘द रियल सोल्जर्स’ (डिआरएस) गेमिङ वैधानिक रूपमा दर्ता भएको पहिलो ई-स्पोर्ट्स टिम हो। २०७६ मा दर्ता भएको डिआरएसले २०७७ को चैतमा आफ्नो टिममा पाँच खेलाडी आबद्ध गर्दै नेपालमा ई-स्पोर्ट्सको व्यवसायिक सुरुवात गरेको थियो।

डिआरएस गेमिङका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल हुन्। पौडेल ‘रूटिन अफ नेपाल बन्द’ का सञ्चालकसमेत हुन्। पछिल्लो समय ई-स्पोर्ट्सका विभिन्न खेलमा युवाको आकर्षण बढिरहेको छ। अझ यसबाट लाखौं आम्दानी समेत गर्न सकिने भएकाले व्यवासियक रूपमा अघि बढ्नु पर्ने नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) अध्यक्ष सुरज डंगोलले बताउँछन्।

‘महानगरले ई-स्पोर्ट्सका लागि बजेट छुट्याउनु सकारात्मक कुरा हो। तर यो बजेट पारदर्शी किसिमले खर्च गर्नुपर्छ,’ डंगोलले भने। खेलकुद ऐनका कारण राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता हुन नसकेको नेसालाई नेपाल ओलम्पिक कमिटीको भने मान्यता छ। एसियाली देशहरूका लागि ओलम्पिकपछिको प्रतिष्ठित खेलकुद प्रतियोगिता एसियाली खेलकुदको १९औं संस्करणमा दुई खेलमा पहिलो पटक प्रतिस्पर्धा हुनेछ।

चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा ई-स्पोर्ट्स र ब्रेक-डान्सिङमा पहिलो पटक प्रतिस्पर्धा हुँदैछ। यसअघि भदौ २५ देखि असोज ९ सम्म हुने तय भएको एसियाली खेलकुद कोभिड-१९ का कारण स्थगित गरिएको थियो। प्रतियोगिताको नयाँ मिति चाडै सार्वजनिक गर्ने आयोजकको भनाइ छ।
एसियाली खेलकुद पहिलोपटक प्रतिस्पर्धा हुन लागेको ई-स्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्