जनादेश अन्तर्राष्ट्रिय वाच।
रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गर्दै गएपछि आत्तिएको पश्चिमले भारी हातहतियार सहयोगमार्फत युद्धको दिशा बदल्ने दिवास्वप्न देखिरहेको छ ।
त्यही आकांक्षालाई साकार पार्न अमेरिकाले युक्रेनलाई हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम वा हिमार्स उपलब्ध गराएको छ । यो उच्च प्रविधिको रकेट लोन्च सिस्टमले युक्रेनलाई रुसी अग्रमोर्चाभन्दा धेरै भित्रसम्म पुगेर सटीक आक्रमण गर्नका लागि समर्थ बनाएको छ ।
यसैमार्फत युक्रेनले रुसका हतियार भण्डार र सैन्य संरचनामा समेत आक्रमण गर्न सकेको छ । डोनेत्स्क, लिसिचान्स्क र खेर्सनमा हिमार्स उपयोग गरी युक्रेनले शृंखलाबद्ध आक्रमण गरेको खबर आइरहेको छ ।
यत्तिका आधारमा युक्रेनका समर्थकहरू युक्रेनले अब युद्धको दिशा बदल्न लाग्यो भनी होहल्ला गर्दैछन् । रुसले कब्जा गरेको युक्रेनी भूमि अब युक्रेनले फिर्ता लिनेछ भनी उनीहरू दाबी गर्न थालेका छन् ।
तर वास्तविकता यसभन्दा नितान्त भिन्न रहेको रुसी मिडियाहरूको दाबी छ । युक्रेनले रुसको अधीनमा रहेको एउटा पनि ठाउँबाट रुसलाई पछि हट्नका लागि बाध्य बनाउन सकेको छैन । युद्ध शुरू भएदेखि अहिलेसम्म युक्रेनको २० प्रतिशतभन्दा बढी भूभागमा रुसको कब्जा रहेकोमा रुस त्यसमा बसिरहेकै छ । हिमार्सको आगमनले यो स्थितिलाई उल्ट्याउने सम्भावना अहिलेसम्म देखिएको छैन ।
त्यसो त युक्रेनीहरूले अहिलेसम्म युद्धका विषयमा एकोहोरो प्रचारबाजी मात्र गरिरहेका छन् । रुसले अहिलेको भन्दा बढी विनाश युक्रेनमा गराउन सक्ने क्षमता राख्ने भए पनि सर्वसाधारणको अधिक क्षति नहोस् भनी त्यसो नगरेको तथ्यलाई रुसको कमजोरीका रूपमा युक्रेनीहरूले प्रस्तुत गरिरहेका छन् ।
त्यससँगै उनीहरूले रुसी आक्रमणका कारण युक्रेनमा गैरसैन्य संरचना तथा सर्वसाधारणमा क्षति पुगेको प्रचार गर्ने गरेका छन् । रुसले युक्रेनको असैन्यीकरण लक्ष्य हासिल गर्नका लागि सुनियोजित रूपमा सैन्य संरचना तथा हतियार भण्डारलाई तारो बनाइरहेको र त्यस्ता संरचना नजिक रहेका नागरिक संरचनाहरू कोल्याटरल ड्यामेजका रूपमा रहेको कुरालाई युक्रेनीहरूले लुकाउने गरेका छन् ।
त्यस झूटो प्रचारबाजीमा उनीहरूलाई पश्चिमी सञ्चारमाध्यम र सामाजिक सञ्जालले समेत सहयोग गरिरहेको स्थिति छ ।
युक्रेनी प्रचारबाजीलाई सर्लक्क दोहोर्याउने पश्चिमी सञ्चारमाध्यमबाट सूचना प्राप्त गरिरहेका अनि आफ्नो बुद्धिविवेक नलगाइरहेका पश्चिमाहरूलाई युक्रेनमा वास्तवमा के भइरहेको हो भन्ने ज्ञानै छैन । त्यसैले उनीहरू युक्रेनले यस युद्धमा खासै क्षति बेहोर्नु नपरेको र हिमार्स आएपछि अब युक्रेन विजयी हुने हल्ला मच्चाइरहेका छन् ।
पश्चिमी सञ्चारमाध्यमका केही हेडलाइनहरूको अध्ययन गर्दा यो झूटो प्रचारबाजीका उदाहरणहरू देख्न पाइन्छ ।
न्युजवीकको हेडलाइन छ: रसियन्स इन प्यानिक मोड ओभर स्ट्राइक्स बाई यूएस सप्लाइड हिमार्स अर्थात् अमेरिकाले दिएको हिमार्सबाट भएको आक्रमणका कारण आत्तिए रुसीहरू । त्यस्तै सीएनएनको हेडलाइन छ: युक्रेनका अमेरिकी रकेटहरूले रुसलाई पारे समस्यामा । उता टेलिग्राफ लेख्छ: युक्रेनले प्रहार गरेको पश्चिमी रकेटका कारण रुसको हतियार भण्डार रित्तिँदै ।
यी खबरहरू पढ्दा रुसको हतियार गोलीगट्ठा सकिँदै गएको र रुसी सैनिकहरूले अब युक्रेनी सैनिकहरूलाई मार्न नसक्ने स्थिति आएको आभास हुन्छ । यस्तो कमजोर रुसले अब युक्रेनलाई कसरी जित्न सक्ला र भन्ने सोच पश्चिमा पाठक दर्शकहरूमा आउनु स्वाभाविक हुन्छ ।
तर एबीसी न्युज, द न्युयोर्क टाइम्स, ग्लोबल न्युज क्यानडाका हेडलाइनहरू हेर्ने हो भने रुसले युक्रेनमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेको अनि कृष्ण सागरबाट प्रहार गरेको क्षेप्यास्त्र मध्य युक्रेनसम्म पुगेर क्षति पुर्याएको खबर पनि पढ्न सकिन्छ । अनि डोनबास क्षेत्रमा लगातार रुस अघि बढिरहेको खबर पनि आइरहेका छन् । कमजोर भएर पछि हट्न रुस बाध्य भएको भए तारन्तार यस्ता आक्रमण कसरी गरिरहेको छ अनि नयाँ शहरहरू कसरी कब्जामा लिइरहेको छ ?
वास्तविकतालाई ढाकछोप गर्ने पश्चिमी सञ्चारमाध्यमको प्रयास यसरी आफैं उदांगिइरहेको छ ।
वास्तवमा युक्रेनले युद्धको दिशा बदल्न नसकेको भए पनि अमेरिकी हतियार व्यापारीहरूको मुनाफा चाहिँ बढिरहेकै छ । हिमार्सको एक युनिटका लागि हतियार निर्माण कम्पनी लकहीड मार्टिनले लगभग १ करोड २० लाख डलर कमाउने गरेको छ ।
अहिले अमेरिकाले युक्रेनमा आठवटा हिमार्स पठाएको छ भने थप चारवटा पठाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसरी अमेरिकाका सर्वसाधारणहरू महंगीको मारमा परेको भए पनि हतियार कम्पनीका शेयरधनीहरू चाहिँ मालामाल भइरहेका छन् ।
तर युक्रेन युद्धमा हिमार्सको प्रवेशले रुसलाई रणनीतिक दुविधामा पारेको तथ्यलाई चाहिँ स्वीकार गर्नैपर्ने हुन्छ । त्यसो त हिमार्सले नष्ट गरेको भन्दा कैयौं गुणा हातहतियार र गोलीगट्ठा रुससँग छ । तर हिमार्सलाई पत्ता लगाउन र नष्ट गर्न गाह्रो पर्ने भएकाले रुसका लागि यो जोखिमका रूपमा रहेको छ ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेराश्चेन्कोले गत साता एउटा ट्वीट गर्दै रुसको प्रख्यात एस–४०० हवाई प्रतिरक्षा प्रणालीले हिमार्स रकेटलाई रोक्न नसकेको दाबी गरे । एस–४०० हिमार्सका विरुद्ध कसरी विफल भयो भनी उनले विस्तृत विवरण उपलब्ध गराएनन् । तर रुसी सैनिक, उनीहरूको गोलीगट्ठा र इन्धनका गोदामहरू हिमार्स आक्रमणबाट बच्न नसकेको उनको भनाइ छ ।
उता रुसले हिमार्स प्रणालीमा आक्रमण गरेर त्यसलाई तहसनहस बनाइसकेको दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले बताएअनुसार, रुसी सशस्त्र बलहरूले प्रहार गरेको लामो दूरीको क्षेप्यास्त्रले हिमार्सको लोन्चर तथा त्यसलाई बोक्ने वाहनलाई ध्वस्त बनाएको छ । यसको विस्तृत विवरण रक्षा मन्त्रालयले उपलब्ध गराएको चाहिँ छैन ।
तर यस दाबीका बावजूद रुसलाई हिमार्स प्रणालीले चिन्ता दिएको संकेत रक्षामन्त्री सर्गे शोइगुको बयानले दिन्छ । अघिल्लो साता अघोषित रूपमा युक्रेन पुगी त्यहाँ लडिरहेको आफ्नो सेनाको भोस्तोक समूहसँग कुरा गर्ने क्रममा शोइगुले रुसका हतियार भण्डारमाथि आक्रमण गर्ने पश्चिमी हतियारलाई खोजेर नष्ट गर्न निर्देशन दिएका छन् । उनले भोस्तोक कमान्डरलाई शत्रुको लामो दूरीको क्षेप्यास्त्र र आर्टिलरी हतियारलाई नष्ट गर्ने कामलाई प्राथमिकता दिन भनेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्तो स्थितिमा रुसका हतियार भण्डारमा लगातार सटीक आक्रमण गर्न युक्रेन सफल भएमा अमेरिका पनि उत्साही भएर थप हिमार्स पठाइरहने सम्भावना बढेको छ । हिमार्स पठाएसँगै गुप्तचर सूचना दिएर पनि अमेरिकाले युक्रेनलाई रुसी तारोमा सटीक आक्रमण गर्न योगदान गरिरहेको तथ्यलाई यहाँ स्मरण गर्नुपर्ने हुन्छ ।
यस्तो स्थिति रहँदा युक्रेन युद्धले क्रमशः छद्म वा प्रोक्सी युद्धको चरित्र परित्याग गरी अमेरिका र रुसबीचको युद्धमा परिणत हुन थालेको देखिन्छ । यसले रुसलाई युद्ध अहिलेको भन्दा तीव्र बनाउनका लागि प्रेरणा गर्न सक्ने जोखिम छ ।
अहिले रुसले युक्रेनमा विशेष सैन्य कारवाही चलाइरहेको भन्ने गरेको छ र औपचारिक रूपमा युद्धको घोषणा गरेकै छैन । तर मस्कोले युद्धको घोषणा गरेछ भने युक्रेनविरुद्ध अहिलेको भन्दा बढी सैन्य स्रोतसाधन उपयोग गर्ने र आफूसँग साझेदारी गर्ने मुलुकहरूलाई पनि युद्धमा संलग्न गराउने सम्भावनालाई नकार्न सकिन्न ।
युद्धमा आणविक हतियारको कुरा अहिलेलाई नगरौं किनकि रुसले अस्तित्वगत खतरा नै आइपरेछ भने मात्र आणविक हतियार उपयोग गर्ने हो । तर त्यसो भन्दै गर्दा यस विशेष सैन्य कारवाहीमा रुसले आफ्ना बमवर्षक विमानहरूलाई पूर्ण क्षमताका साथ उपयोग नै नगरेको सैन्य विश्लेषकहरू बताउँछन् ।
अनि राजधानी किएभमा बसेर युद्धको रणनीति बनाउने शीर्ष युक्रेनी अधिकारीहरूलाई उसले अहिलेसम्म तारो बनाएकै छैन । युद्ध चर्काएर भयानक आक्रमण गरी युक्रेनलाई तहननहस बनाउने क्षमता रुससँग छ तर उसले आफ्नो सुरक्षा चिन्ता सम्बोधन हुने शर्तमा कूटनीतिक पहललाई खुला राख्नका लागि युद्ध चर्काउन चाहेको देखिँदैन ।
भन्नलाई त रुसका पूर्वराष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का बहालवाला उपाध्यक्ष दिमित्री मेदभेदेभले क्राइमियामाथि युक्रेनले आक्रमण गरेमा सृष्टिको अन्तिम दिन (जजमेन्ट डे) आउने चेतावनी दिएका छन् ।
जे होस्, हिमार्स हतियार प्रणालीले रुसलाई केही चिन्तित तुल्याएको भए पनि युद्धको दिशा बदल्न यो पर्याप्त छैन । रुसलाई युद्ध चर्काउनका लागि युक्रेनले कतिसम्म भड्काउन सक्छ वा अमेरिकाले रुसको कुन हदसम्मको प्रतिक्रियाको आकलन गरेको छ भन्ने कुराले हिमार्सको थप तैनाथी गर्ने नगर्ने निर्णयलाई निर्धारण गर्नेछ ।
युक्रेनलाई हिमार्स आक्रमणको सजाय दिनका लागि रुसले कुनै पनि अवसर नछोड्ने तथ्यलाई भुल्न मिल्दैन । त्यस क्रममा युद्ध चर्किएछ भने त्यसले युक्रेनलाई मात्र नभई समग्र युरोपलाई दावानलमा धकेल्नेछ र त्यसको विश्वव्यापी असर भयानक हुनेछ ।