कोरोनाको अर्को लहरको डरः स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको अपील, नाकामा निगरानी – Janadesh Daily | ePaper

कोरोनाको अर्को लहरको डरः स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको अपील, नाकामा निगरानी


जनादेश हेल्थ डेस्क।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले १० बुँदे अपिल गर्दै सबै सरकारी तथा गैरसरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ। भीडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कार्यालयहरुमा प्रवेशद्वारमै स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ।

विमानस्थल हवाइ तथा सार्वजनिक यातायातमा पनि मास्कको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयले अपिल गरेको छ। गोष्ठी सेमिनार तथा भीडभाड हुने स्थलमा पनि मास्कलाई अनिवार्य रुपमा प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। विद्यालय, विश्वविद्यालय, मनोरञ्जन स्थललगायतमा पनि मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय हवाइ तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बढाउन तथा अनुगमन प्रभावकारी बनाउन पनि मन्त्रालयले सबैसँग सहयोग मागेको छ। सक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका तथा संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएमा कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

कोरोनाको डरलाग्दो डर, दैनिक संक्रमण उच्च
पछिल्ला साता नेपालमा दैनिक करिब चार सयको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् भने संक्रमणदर पनि १२ प्रतिशत पुगेको छ। गत असार १ मा ०.६४ प्रतिशत पुगेको संक्रमण दर साउन ५ सम्म आइपुग्दा १२.१ .प्रतिशत पुगेको छ। तेस्रो महामारीको लहर गत फागुनबाट क्रमशः मत्थर हुँदै गएको थियो। तेस्रो लहरमा संक्रमण दर ५० प्रतिशतमाथि पुगेको थियो।

पछिल्ला साता कोभिड संक्रमितको संख्या दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाअनुसार दैनिक झन्डै ४ सय हाराहारी संक्रमित थपिन थालेका छन्। २ साउनमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो, जुन पछिल्ला चार महिनायताकै उच्च हो। असार २० सम्म १ प्रतिशत रहेको कोरोना संक्रमण दर अहिले झन्डै १२ प्रतिशतमा आइपुगेको छ।

किन बढ्न थाल्यो कोरोना ?
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए५ संक्रमण हुन सक्ने विज्ञहरूले औंल्याएका छन्। यसरी कोरोना संक्रमण बढ्दै जानु र सक्रिय संक्रमितको सख्या पनि बढ्दै जानुलाई विज्ञहरूले कोरोनाको चौथो लहर सुरु हुने संकेतको रूपमा बुझेका छन्।

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास कोरोनाको चौथो लहर सुरु हुने संकेत देखिएको बताउँछन्। निरन्तर घट्दै गइरहेको कोरोना संक्रमण दर असारयता उकालो लाग्न थालेको उनको अनुमान छ। पछिल्लो समय कोरोना संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्ट र यसका उप–प्रजाति बीए टु र बीए फाइभ बढी सक्रिय भएको हुन सक्ने विज्ञहरू बताउँछन्। दासका अनुसार भारतमा पनि ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। सीमानाका हुँदै नेपाल प्रवेश गर्नेमध्ये दैनिक २० बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैले नेपालमा पनि ओमिक्रोनको नयाँ उपप्रजाति फैलिएको अनुमान छ।

नेपालमा ओमिक्रोनको नयाँ उप–प्रजाति बी ए फाइभ पुष्टि भइसकेको छ। ‘बीए फाइफ’ भेरियन्टलाई अन्य भेरियन्टभन्दा निकै संक्रामक मानिएको छ। अहिले विश्वभर फैलिरहेको ओमिक्रोनका भेरियन्टबाट बच्न बुस्टर डोज बढी प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।

पछिल्लो समय दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेपछि चिकित्सकले अनिवार्य बुस्टर डोज खोप लगाउन सुझाएका छन्। पूर्ण मात्रा खोप लगाएकाले बुस्टर जोड खोप लगाए संक्रमण भए पनि स्वास्थ्यमा जटिलता कम आउने विज्ञको भनाइ छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार अहिले ७७ वटै जिल्लामा बुस्टर डोज लगाइँदै छ। बुस्टर डोजका लागि पर्याप्त मात्रामा खोप उपलब्ध रहेको महाशाखा प्रमुख डा. विवेककुमाल लालले बताए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्