जनादेश वाच।
केही दिनयता बालबालिकाहरुमा एडिनो भाइरसको संक्रमण देखिन थालेको छ। काठमाडौँमा १२ जना बालबालिकामा भाइरस पुष्टि भइसकेको छ। महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको कान्ति बाल अस्पताल निर्देशक डा. युवनिधि बसौलाले बताए। ‘ओपीडीमा आएका केही बालबालिकामध्ये १३ जनाको नमुना पठाएका थियौँ। त्यसमध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको छ’, उनले भने,‘पछिल्लो केही दिनयता ओपिडीमा आउनेहरुको संख्या बढ्दो छ। तर उनीहरुलाई भर्ना भने गर्नुपरेको छैन।’
एडिनो भाइरस अन्य भाइरसजस्तै भएका कारण नआत्तिन बालरोग विशेषज्ञ डा. रामहरि चापागाई बताउँछन्। उनले भने, ‘एडिनो भाइसर भनेको अरु भाइरसजस्तै हो। अरु रुघाखोकी ज्वरो ल्याउने भाइरस एडिनो भाइरस राइनो भाइरस इन्फ्लुएन्जा, कोरोना भाइरस भनेको जस्तो यो पनि एउटा भाइरस हो।’ एडिनो भाइरस भएका बालबालिकामा रुघाखोकी, ज्वारो, आँखा रातो हुने, कतिलाई झाडापाखाला लगाउने, पेट दुखाउने, जीउँ दुख्ने, मांशपेसी दुख्ने, खाना मन नलाग्नेजस्ता समस्या देखिन सक्ने उनले बताए। ‘यी यो भाइरसका चिन्न अथवा लक्षण हुन’, उनले भने।
कसरी सर्छ?
यसको सर्ने तरिका अन्य भाइरसजस्तै हो। व्यक्ति–व्यक्तिको सम्पर्क, श्वासप्रश्वासको सम्पर्कको माध्यमबाट सर्ने गर्छ। कोरोना भाइरसजस्तै ‘ड्रप्लेट’हरुबाट नै सर्ने हो। बालबालिकाहरुमा सर्ने अर्को तरिका भनेको उनीहरु समूहमा खेल्ने हुँदा, खानेकुरा साटासाट गरेर खाँदा संक्रमण सजिलै सँग फैलिन सक्छ। यसो गर्दा ‘डाइरेक्ट कन्टेयाक’बाट एडिनो भाइरस सर्छ।
रोकथामको उपाय के?
रोग लाग्नै नदिने सबैभन्दा उत्तम उपाय भनेको ‘हाइजीन’ भएको बताउँछन्, डा. चापागाई। उनले भने,‘भाइरसबाट बच्नका लागि गर्ने भनेकै साबुन पानीले हात धुने। अरुले छोएको खानेकुराहरु सकेसम्म नखाने। भाइरसको लक्षण देखिएका व्यक्तिहरुको समूहमा नबस्ने नै हो।’
भाइरसको उपचार के?
डा. चापागाईका अनुसार अरु भाइरसभन्दा यसमा के फरक छ भनेर हेर्ने हो भने जटिला यसले अरु भाइरसभन्दा धेरै ल्याउने होइन। उस्तै नै हो। अरु भाइरसजस्तै यो भाइरसका पनि उपचार हुँदैन। खाली सपोर्टिभ उपचार मात्रै हो। औषधि दिने भनेपछि टाइफाइडको जस्तो औषधि यो भाइरसका लागि हुँदैन।
‘अरु भाइरसजस्तै यसमा पनि करिब करिब पाँचदेखि सात दिनमा यसका असरहरु हटेर जान्छन्। कुनै कुनै भने दुई हप्तासम्म पनि रहन सक्छ’, उनले भने,‘यसको फरक भनेको भाइरल ज्वरोमा भन्दा यसमा चिन्ह अथवा लक्षणहरु धेरै हुना सक्छन्। जस्तै टाउको दुख्ने, आँखा रातो हुने अरु राइनो भाइरसमा, इन्फ्लुएन्जा भाइरसमा हुँदैन। पखाला लगाउने, पेट दुख्ने अरुमा भाइरसमा अलि कम हुन्छ भने यो भाइरसमा असल धेरै हुन्छ।’
यो भाइरसले अरुमा भन्दा ज्वारो उच्च आउने गरेको डा. चापागाईले बताए। उनले भने,‘अरु बच्चाहरुलाई सामान्य रुघाखोकी लगाउने भाइरसमा ज्वरो १०१ डिग्री गराउ छ भने यो भाइरसले १०४ डिग्रीसम्म ज्वरो आएको हामीले भटेका छौँ। ज्वरोको हकमा अलि धेरै हुने भयो।’
सबै भाइरसको उपचार सपोर्टिभ हो। भाइरसको कुनै पनि ‘इस्पेसिफिक’ उपचार हुँदैन। ज्वरो आयो भने ज्वरो घटाउनु नै यसको उपचार भएको चिकित्सकहरुले बताएका छन्।
उपचारका लागि कस्तो अवस्थामा अस्पताल पुग्ने?
डा. चापागाईका अनुसार यसको ‘इस्पेसिफिक’ उपचार छैन। कुन बेला उपचार जाने भन्ने हुन सक्छ। अरु भाइरल रुघाखोकी, ज्वरो जस्तै नै हो। फरक यसमो अति धेरै ज्वरो आउने मात्र हो। ‘तर बिरामी बच्चा धेरै आलस्य भएमा, स्वास फेर्न गाह्रो भएमा, कोखो हानेमा, पेटमा केही पनि नरोकिने गरी उल्टी भएमा, ज्यादै पखाला लागेको अवस्थामा तुरुन्तै अस्पताल पुर्याउनु पर्छ’, उनले भने,‘देखासिकी गर्नु हुँदैन। कुनै बच्चालाई ज्वरो आउँदा वा बिरामी हुँदा खुवाएका औषधि अर्को बच्चा बिरामी हुँदा खुवाइहाल्नु हुँदैन। यो धेरै औषधि चाहिने रोग होइन।’
ज्वारो कम गर्न के गर्ने?
ज्वरो कम हुने केही समय लाग्न सक्ने डा. चापागाईले बताए। त्यसले गर्दा विभिन्न ठाउँमा गएर औषधि लिनका लागि स्वास्थ्यकर्मीकहाँ धाइराख्नु पर्दैन। जुन सुकै कारणले ज्वरो आए पनि कम गर्नका लागि सिटामोल नै प्रयोग गर्ने हो। बरु धेरै कपडा लगाएको छ भने त्यो खोलेर पातलो लुगा लगाइदिने, पानी पट्टि गर्ने, झ्याल ढोका बन्द छ भने खुल्ला राख्ने र झोलिलो खाने कुरा बढी खाने गर्नु उनी बताउँछन्।
जोखिम बालबालिकालाई मात्रै हो?
‘होइन। एडिनो भाइरस भनेको वर्षैभरी हुने भाइरस हो। कहिले धेरै हुन्छ, कहिले थोरै हुन्छ। अर्को भनेको यसले जुनसुकै उमेरका व्यक्तिलाई पनि सताउन सक्छ। तर भाइरसको लक्षण त्यसको विरुद्ध लड्ने क्षमता कम भएको बेला देखिन्छ’, डा. चापागाईले भने। उनका अनुसार बालबालिका र बृद्धबृद्धामा रोगसँग लड्ने क्षमता कम देखिने हो। त्यसैले उनीहरुलाई हुने हो। अझ भन्ने हो भने हाम्रा धेरै बालबालिका कुपोषित छन्। र बालबालिकाको ‘हाइजीन’ राम्रो छैन। उनीहरु समूहमा बस्छन्, खेल्छन् र खान्छन्। यही कारणले बालबालिका ठूला व्यक्तिको तुलनामा धेरै संक्रमित हुने गरेका छन्।