काठमाडौं महानगरपालिकाले ‘अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान सुरू गरेको छ।
सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो। अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो। आजदेखि काठमाडौं महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ।
मेयर बालेन शाहसहित टोली आज ‘अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रको अनुगमनमा पुगेको छ। नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाहको उपस्थितिमा त्यस्ता पसल तथा अन्य संरचनाहरु हटाउन निर्देशन दिइएको हो।
घर तथा भवनको नक्सा पास गर्दा ‘अन्डरग्राउन्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो।