जनादेश हेल्थ डेस्क।
पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएका छन्। परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा डेंगी देखिएको टेकु अस्पतालका सूचना अधिकृत नवराज गौतमले बताए। अहिले अस्पतालमा भर्ना भएका २७ जनामध्ये ४ जनाको अवस्था जटिल रहेको उनले जानकारी दिए। उनका अनुसार डेंगीका लक्षण लिएर ओपीडीमा आउनेहरुको संख्या दैनिक ६० पुगेको छ। गत महिना १९० जना भर्ना डेंगीका बिरामी अस्पताल भर्ना भएका थिए। भदौ महिना सुरु भएदेखि १३ गतेसम्म ३१९ जना डेंगीका बिरामीको उपचार गरिसकेको गौतमले बताए।
के हो डेंगी?
विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी लामखुट्टेको माध्यमबाट सर्ने रोग हो। यो रोग फ्लेभिभिरिडेइ परिवारको डेंगी नामक भाइरसको कारणले हुन्छ। यो सबै लामखुट्टेको टोकाइबाट सर्ने नभइ ‘एडिज एजिप्टाई’ र ‘एडिज एल्बोपिक्टस’ नामक पोथी जातको लामखुट्टेको टोकाइबाट मात्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो।
डेंगी लागेको कसरी थाहा पाउने?
डेंगी ज्वरो लाग्दा फ्लु अथवा भाइरल ज्वरोको जस्तै लक्षण देखिन्छ। यसले भर्खर जन्मेको बच्चादेखि वयस्कसम्म सबैलाई संक्रमित बनाउन सक्छ। १०४ डिग्री फरेनहाइट र सोभन्दा माथिको ज्वरो आएमा डेंगी लागेको आशंका गर्न सकिन्छ। ज्वरो सँगसँगै अत्याधिक टाउको दुख्ने, आखाँको पछाडिको भाग दुख्ने, मांशपेशी तथा जोर्नीहरु दुख्ने, वान्ता हुने, ग्रन्थीहरु सुन्निने समेतका लक्षणहरु देखिएमा डेंगी मान्न सकिने चिकित्सक बताउँछन्। यो लक्षण दुईदेखि सात दिनसम्म देखिन्छ। संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनमा यस्ता लक्षण देखिन्छ।
डेंगी कतिबेला खतराजनक हुन्छ?
सामान्यतया डेंगी त्यति खतराजनक हुँदैन। तर, यसको लामो समय उपचार हुन नसकेमा भने प्लेट्सलेट्सको कमी, शरीरमा पानी जम्ने, स्वासप्रस्वासमा समस्या आउने, आन्तरिक रक्तश्राव हुने तथा अंगहरु फेल हुने अवस्थामा भने खतराजनक हुन सक्छ। प्रारम्भिक लक्षण देखिएको ३ देखि ७ दिनमा खतराका लक्षण देखिने गर्छ। जसमा शरीरको तापक्रम कम हुने, अत्याधिक पेट दुख्ने, लगातार वान्ता हुने, छिटो छिटो श्वासप्रश्वास हुने, गिँजाबाट रगत आउने, थकाइ लाग्ने तथा वान्तामा रगत देखिने लक्षण रहेका छन्। यस्ता लक्षण देखिएको २४ देखि ४८ घण्टामा बिरामीले उपचार नपाएमा उसको मृत्युसमेत हुन सक्छ।
डेंगीबाट कसरी बच्ने?
डेंगीको नियन्त्रणको लागि लामखुट्टेलाई नै नियन्त्रण गर्नु आवश्यक रहेको विज्ञ बताउँछन्। पानीमा हुने लामखुट्टेको चरणलाई नियन्त्रण गर्न समुदायमा घर वरपर सफा राख्ने, पानी जम्न नदिने आदि गर्न सकिन्छ।