आजको मौसमः देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना


जनादेश वेदर वाच।
अहिले (आइतबार बिहान) विशेषगरी देशका पहाडी भेगमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले प्रदेश १ का तराई तथा पहाडी भेगमा, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

‘यस क्रममा दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ’, मौसमविद् प्रधानांगले भने। यस्तै राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्