जनादेश वाच।
नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको लथ्याङ्कले देखाएको छ । जनवरीदेखि अहिलेसम्म देशभर डेंगु संक्रमितको करिब १० हजार पुगेको छ । सन् २००४ यता नेपालमा डेंगु संक्रमण फैलदो क्रममा रहेको महाशाखाका कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहाले जानकारी दिए । यसअघि, सन् २०१९ मा अहिलेको भन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २०२० मा संक्रमण घटेको थियो ।
सन् २०२० मा जम्मा ५ सय ३० जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२१ मा पाँच सय ४० जनामा संक्रमण पुष्टि भएकोमा यो वर्षको मध्यतिरै १८ गुणाभन्दा धेरैले बढेको छ । यद्यपी अहिले परीक्षण नगरी घरमै बस्ने संख्या धेरै छ । त्यो जोड्दा संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको अनुमान छ ।
संक्रमण अझै बढ्नसक्ने भएकाले सर्तकता अपनाउन डा. दाहालले आग्रह गरे । उनी भन्छन् ‘ बर्खाको मौसम किटजन्य रोगको संक्रमण बढी देखिने समय हो । वर्षा सकिएपछि पनि केही महिना जोखिममै रहन्छौँ, यो बेला कसैलाई ज्वरो आयो, रुघा लाग्यो भने परीक्षण गराउनुपर्छ।’
याे वर्ष सातजनाको मृत्यु
पछिल्लो १५ दिनयता डेंगु संक्रमणबाट सातजनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । महासाखाका अनुसार मृत्यु हनेमध्ये ४ जनाको डेंगुकै जटिलताले र ३ जनामा अरु रोग पनि थियो । कान्ति बाल अस्पतालमा तीन वर्षीया बालिकाको पनि ज्यान गएको छ ।
हिमाली जिल्लामा पनि डेङ्गु देखियो
सामान्यतया किटजन्यरोग तराइका क्षेत्रमा बढि देखिन्छ । डेंगु संक्रमण भने हिमाली जिल्लामा समेत देखिएको छ । मुस्ताङ र हुम्लाबाहेक सबै हिमाली जिल्लामा संक्रमण पुगेको छ । सन् २०२२ को जनवरी देखि सेप्टेम्बर १२ सम्म हिमाली १८ जिल्लाका ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डोल्पा र मुगुमा समेत संक्रमण पुगेको छ । जलवायु परिवर्तनका कारण पहाड र हिमाली क्षेत्रमा पनि तापक्रम बढिरहेको छ । त्यसैले डेंगु फैलाउने लामखुट्टै माथि चढेको छ र हिमाली हावापानीमा पनि बाँच्न सक्नेगरी परीवर्तन भएको छ ।
ललितपुरमा संक्रमण सबैभन्दा बढी
बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढी जनघनत्व भएकाले पनि यो प्रदेशमा संक्रमितको संख्या अन्य प्रदेशमा भन्दा बढी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमण बढी फैलिएको छ । काठमाडौंमा दुई हजार चार सय १४, ललितपुरमा तीनहजार ६ सय २२ र भक्तपुरमा एकसय ७६ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । तर यो भन्दा पनि घरमै बसेको संख्या अझ ठुलो हुन सक्ने अनुमान छ ।
के हो डेंगु ?
डेंगु एडिस (बमष्क) जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्। ३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यसले सातदेखि १० जना मानिसलाई टोक्न सक्छ । यसकारण यो लामखुट्टेले धेरैलाई डेंगु सार्ने सम्भावना हुन्छ । यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई लक्षण देखिन्छ। पहिलो टोकाइमा लक्षण नदेखिए पनि दोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सक बताउँछन् ।
कसरी बच्ने ?
डेंगु लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ । लामखुट्टेको वृद्धि रोक्न सके मात्र यसको नियन्त्रण गर्न सकिन्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर सफा गर्नुपर्छ । साथै, सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मल्हम लगाउन पनि सकिने पुनको सुझाव छ । यो लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनु आवस्यक छ ।
बालेनले भने- जाडो नपर्खौँ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगुको प्रकोप बढिरहेकोले जाडो नपर्खन अपिल गरेका छन् । डेंगुको प्रकोप नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै उनले लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरेका हुन् । ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ,’ उनले लेखेका छन् । वडाको आकार अनुसार ठूला वडाहरूमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा ५० हजारका दरले बजेट छुट्याइएको मेयर शाहले मंगलबार साँझ एक स्टाटस अपडेट गर्दै जनाएका छन्।