जनादेश वाच।
देशभर डेंगीका बिरामीको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि हालसम्म १२ हजार २ सय १७ जनामा डेंगी देखिएको छ । सोही अवधिमा ११ जनाको मृत्यु भएको छ । डेंगी ७५ वटा जिल्लामा फैलिएको छ ।
अस्पतालमा भीड
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बिहीबार दिउँसो अस्पतालको प्राङ्गणदेखि इमर्जेन्सी कक्षसम्म भरिभराउ थियो, डेंगीका बिरामीले । कोहीलाई स्लाइन चढाइएको थियो । कोही प्राङ्गणको चिसो भुईंमा उपचारको प्रतीक्षामा थिए । बिरामीको सहजताका लागि इमर्जेन्सीअगाडि ओपीडीको व्यवस्था गरिएको थियो । ‘इमर्जेन्सीमा आउँदाआउँदै बिरामी बेहोस हुन थालेका छन् । त्यसैले इमर्जेन्सीअगाडि ओपीडी सेवा सुरु गरेको हो,’ बिरामीको उपचारमा खटिएका डा. शेर बहादुर पुनले भने, ‘थेग्नै नसक्ने गरी बिरामी आइरहेका छन् ।’
काठमाडौं उपत्यकामा घरघरमै डेंगीका बिरामी रहेको उनी बताउँछन् । ‘घरघरमै डेंगी छ । ५० प्रतिशत संक्रमित भइसकेका छन्,’ उनले भने, ‘स्कुल, घर, कार्यालय सबै ठाउँमा संक्रमित भएका छन् । कति अस्पताल आएका छैनन् ।’
हिजोआज टेकु अस्पतालमा मात्र दैनिक ३ सयको हाराहारीमा डेंगीका बिरामी उपचारका लागि आइरहेका छन् । ‘असारदेखि अहिलेसम्म ३ हजार ५ सय डेंगीका बिरामी आएका छन्,’ सूचना अधिकारी नवराज गौतमले भने, ‘आईसीयूमा ११ जना र वार्डमा २६ जना छन् ।’
बिहानको समयमा इमर्जेन्सी पनि भरिभराउन हुने गरेको बताउँछन् उनी । बिहान १० देखि १२ बजेसम्म बिरामीको चाँप अस्पतालमा धेरै हुने गरेको छ । बिरामीलाई बेड पाउन मुस्किल पर्छ । बिहीबार दिउँसो एउटै बेडमा दुई जना बिरामी राखेर स्लाइन चढाइँदै थियो ।
२०१९ मा पनि डेंगीले प्रकोपको रूप लिएको थियो । त्यो समयमा करिब १८ हजार संक्रमित भएका थिए । डेंगीले २०१९ को रेकर्डलाई ब्रेक गर्ने विज्ञहरू बताउँछन् । ‘यो प्रकोप हो । अघिल्लोभन्दा माथि गएपछि प्रकोप हुन्छ । अझै तीन हप्ता डेंगीको जोखिम छ,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन् । पहिलेपहिलेभन्दा यो वर्ष केस धेरै भएकाले जटिल स्थिति आएको चिकित्सकहरू बताउँछन् । ‘धेरै केस भएपछि गाह्रो भएको हो । एउटा बेडमा दुई जनालाई राखेर उपचार गर्नुपरेको । बिरामी सिरियस भएका छन्,’ टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल शर्मा चालिसे भन्छन् ।
नियन्त्रण गर्न के गर्ने ?
नियन्त्रणका लागि मानिसको व्यवहार महत्त्वपूर्ण हुने विज्ञहरु बताउँछन् । ‘मानिस आफैँ सुरक्षित भएर झुल टाँगेर सुत्नुपर्छ । टायर सफा गर्ने, पानी जम्ने ठाउँ सफा गर्ने गर्यो भने डेंगीको आउट ब्रेकलाई रोक्न मद्दत गर्छ,’ डा. बाँस्तोला भन्छन्, ‘पहिले बाहिर मात्र टोक्ने गर्थ्यो । अहिले घरभित्रै एडिस लामखुट्टे छिरेको छ । पर्दामुनिबाट पनि टोक्न सक्छ ।’ अबको तीन सातापछि चिसो सुरु हुने भएकाले डेंगी कम हुँदै जाने उनी बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियान चलाइरहेको बताएको छ । ‘यसको खोप छैन । लार्भा खोज र नष्ट गर अभियान चलाइरहेका छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुर भन्छन्, ‘लामखुट्टेको टोकाइबाट जोगिनु नै राम्रो उपाय हो ।’
जथाभावी औषधि प्रयोग नगर्नू
डेंगीका बिरामीले जथाभावी औषधि प्रयोग गरिरहेकाले चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । ‘पेनकिलर खानु हुँदैन । ज्वरो घटाउन सिटामोल र झोलिलो खानेकुरा खाने हो । गाह्रो भए अस्पताल गएर चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नुपर्छ,’ प्रवक्ता ठाकुर भन्छन्
महानगरमा हटलाइन-बालेन
काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन शाहले बिहीबार साँझ सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सेवा सुरु गरेको जानकारी दिएका छन्।
उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सक्नेछन् । ‘डेंगु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौं। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’उनले फेसबुकमा लेखेका छन् ।