मानव सभ्यताको सुरुवातसँगै जीवन सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ। यसअनुसार हाम्रो समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधि प्रयोग गरिएका छन्। हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधि शिक्षाको महत्वपूर्ण स्थान हुन्छ। संसारमा विकसित देशको इतिहास अध्ययन गर्ने हो भने कैयौँ वर्ष पुराना विश्वविद्यालय रहेको र तिनैका अनुसन्धान तथा उपलब्धिका आधारमा उक्त देशले आधुनिक तहको शिक्षा विकास गर्दै देश विकासमा ठूलो फड्को मारेको पाइन्छ।
विज्ञान र प्रविधि शिक्षा कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासको प्रमुख कडी मानिन्छ। कुनै पनि राष्ट्रको समुन्नति उक्त देशले अनुसन्धानमा आधारित बनाएको र अपनाएको विज्ञान र प्रविधि नीति तथा समग्रतामा त्यसको कार्यान्वयनमा भर पर्छ। त्यसका लागि सरकारको लगानी र प्रतिबद्धता मुख्य हुन्छ। देशको समग्र विकासका लागि चाहिने वैज्ञानिक शिक्षाको महत्व अधिक हुँदाहुँदै पनि नेपालको सन्दर्भमा भने आधुनिक, वैज्ञानिक तथा प्राविधिक शिक्षाले प्रविष्टि पाएको धेरै भएको छैन।
नेपालमा विज्ञान शिक्षा तत्कालीन त्रिभुवन चन्द्र क्याम्पसमा वि.सं. १९७६ सालबाट प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) पढाइबाट थालिएको थियो र स्नातक तह (बीएस्सी)को पढाइ वि.सं. २००४ बाट सुरु भएको थियो। वि.सं. २०२२ मङ्सिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरु भएको थियो। हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ विकास सँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विषयमा खुलेर छलफल सुरु भएको छ। यसलाई सुखद सङ्केतका रूपमा लिन सकिन्छ। विक्रम संवत् २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु गरिएको छ। विज्ञान विषयको पठनपाठनको हिसाबले त्रिचन्द्र कलेज पुरानो हो तर विज्ञान दिवस तत्कालीन पब्लिक साइन्स कलेजको स्थापना दिवस १ असोज २०१३ लाई रोजिएको छ। यो विषयलाई उक्त कलेजका तत्कालीन प्रिन्सिपल अमृतप्रसाद प्रधानको सम्मान र सम्झनामा बुझ्न उपयुक्त हुनेछ।
हाम्रा अति नै मौलिक प्रविधिलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ। विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ र पुर्खाले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजीनीति हुनु आवश्यक छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै ज्ञान र प्रविधिलाई अपनाएको, सम्भ्रान्त राणा परिवारमा जन्मिए पनि आफ्ना सहयोगी मुसे थापाजस्ता प्राविधिक दक्षता भएकालाई साथ लिएर विज्ञान र यसको प्रयोगमा रमाउने हतियारविज्ञ गेहेन्द्रशमशेर राणालगायत विज्ञान र प्रविधिको पक्षमा अनुसन्धान गर्ने, परम्परागत प्रविधिबारे चाख राख्ने र संरक्षण गर्ने सबैले यो वा त्यो रूपमा योगदान पु-याएका छन्।
विज्ञानलाई चेतनाको दियो बाल्ने अति नै आवश्यक ज्ञानका रूपमा सम्झिनुपर्छ। विज्ञान, प्रविधि, ठूला पुस्तक र विकसित देशमा मात्रै हुन्छन् र रहन सक्छन् भन्ने भ्रम चिर्दै हामी सबैले यसको महìव बुझ्दै केही न केही योगदान दिन सक्नुपर्छ। देशको समग्र विकासमा विज्ञान र प्रविधिको महìवलाई नीति निर्माणको तहमा पु-याउन विशेष पहल गर्नुपर्ने र नयाँ तथा युवा प्रतिभा आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्न आवश्यक देखिन्छ।
विज्ञान र प्रविधिको विकास भन्नाले ठूलाठूला उद्योग, कलकारखाना, भू–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने बुझिन आउँछन्, जुन कुरा अरू देशका लागि उनीहरूको आवश्यकताअनुसार सही हुन सक्छ। हाम्रो देशको सन्दर्भमा सही हुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्यसम्पादनमा सहजीकरण हुनुपर्छ । आमजनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिष्कृत गर्ने खालको हुनुपर्छ, जसबाट स्थानीयस्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् ।
देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छ । खासमा भन्ने हो भने नेपाल सरकारले संरक्षक तथा अभिभावकको भूमिका निर्वाह गर्न आवश्यक छ भन्ने कुराको पहल गर्दै बोध गराउनु पनि आवश्यक छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि समाज अनि राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि, नवप्रवर्तन र यसको महत्व बुझाउन आवश्यक हुन्छ। परम्परागत मौलिक ज्ञान, सीप र प्रविधिमा समुन्नत हुँदाहुँदै पनि हामी नेपाली विकासमा पछाडि परेका छौँ। समाजले भोगेका धेरै समस्या समाधानमा विज्ञान र प्रविधिको ठूलो महìव हुन्छ। यो विषयलाई जबसम्म प्राथमिकतामा राखिँदैन, हाम्रो विकास पनि हुन सक्दैन।
देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महìव हुने गर्दछ, विकास भनेको खासमा एकीकृत पहल हो । पहाडी भू–भागको आफ्नै खास महìव छ भने तराईको पनि त्यसरी नै विशेष भूमिका र महìव छ । त्यसैगरी हिमाल, पहाड, तराई सबै ठाउँमा भूगोलको विविधतासँगै आबहवामा पनि विविधता छ । यी सबै भूगोलका मानिसमा समग्र विकासका लागि एकअर्को ठाउँको खास महत्व छ । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पु¥याउन नसक्नु नै हामी विकासमा पछाडि पर्नुको मूल कारण हो। कृषिमा आधारित लघु उद्योग सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलपूmलमा आधािरत उद्योग, पशुपालन तथा दुग्ध व्यवसाय तथा वनपैदावारमा आधारित उद्योग जडीबुटी उत्पादन, मह–उत्पादन, चिया, अलैँची, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामञ्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक सङ्घसंस्था, सरकारी निकाय, गैरसरकारी सङ्घसंस्थामा कार्यरत देशबाहिर रहनुभएका जनशक्तिलाई एकआपसमा सहकार्य गर्ने वातावरण मिलाउन जरुरी छ। यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्छ। अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पु-याउन सकिन्छ। आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै बिर्सन सक्दैन, यो मानवीय गुण हो।
जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पु-याउने हेतुले जो कोहीले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्छ। आफ्नो जीवन सार्थक बन्न पुगेको सबैले चाहने विषय हो र यसका लागि केही योगदान अवश्य पनि गर्ने चाहना हुन्छ तर त्यसका लागि राज्यले वातावरण निर्माण गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। योगदान दिन चाहने व्यक्तिलाई पहिचान दिने खालको कार्यक्रम ल्याउनुपर्छ। विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्व नेपालमा फर्किएर काम गरिरहेका उदाहरण पनि प्रशस्त छन्। खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आमजनमानसले विज्ञानप्रविधिको अनुसन्धानमा संलग्न गराउन खोलिएका राज्यका निकाय जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ । गत दुई/अढाई वर्ष हाम्रालागि कोरोना भाइरसका कारणले कठिन दिन भए। त्यस अवस्थामा विज्ञान र प्रविधिको क्षेत्रमा हामीले हाम्रो क्षमता आकलन गर्ने अवसर पायौँ। नेपाल कति पराधीन बन्न पुगेको रहेछ भन्ने हेक्का सरकार र सम्बन्धित पक्षबाट राख्न सकियो भने आगामी दिन सहज हुनेछन्।
विज्ञान प्रविधिको विकासले विभिन्न क्षेत्रमा महìवपूर्ण उपलब्धि हासिल भएका छन्। सूचना र सञ्चारप्रविधि तीव्र रूपमा अगाडि बढिरहेको छ र सर्वसाधारणको पहुँचमा पनि पुगिरहेको छ। जसले विश्वलाई नै एउटा गाउँ बनाउन खोजिरहेको छ। खासगरी नेपालमा करिब तीन दशकदेखि सूचना प्रविधिको क्षेत्रमा आशालाग्दो विकास भएको छ। थोरै भए पनि दुर्गम गाउँघरमा पनि प्रविधिको उपयोग भएको देखिन्छ। नेपालमा जति फाइदा लिनुपर्ने हो, त्यो हुन सकेको छैन किनकि हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमका रूपमा मात्र प्रयोग गरिएको छ।
यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम मात्र बनाउनुको साटो कृषि, स्वास्थ्यजस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याई देश विकासमा अघि बढाउन सकिन्थ्यो, त्यो हुन सकिरहेको छैन। कुनै एउटा ग्रामीण भेगमा ठूलो तहमा कृषि कार्य गर्न त्यहाँ प्राविधिक जानकारी लिन सूचनाप्रविधिको माध्यमबाट विज्ञहरूले त्यहाँका किसानसँग प्रत्यक्ष अन्तक्र्रिया गरी उनीहरूको समस्या बुझी समाधान गर्न सकिन्छ । यस्तै खालका कृषि तथा स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोग गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सकिन्छ ।
विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवावर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महìव बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ। तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिने हिसाबले पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफैँ जाग्नुपर्ने हुन्छ । जनता आफैँ जागे भने देशको विकास हुन कठिन हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनतामा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिइरहेका छन्। त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधन प्रयोग गर्नुपर्छ ।
साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गरी समुन्नत नेपाल बनाउने कुरा सारा नेपालीको राष्ट्रिय सङ्कल्प बन्न सक्नुपर्छ। सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा हामी सबैले आफूलाई उभ्याउन आवश्यक छ। राजनीतिक पार्टीहरूले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नुपर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौँ।
लेखक भुसाल त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ।
गोरखापत्रबाट