काठमाडौं। मानिसको जीवन प्रविधिमा यति धेरै अभ्यस्त भइसक्यो कि आउने दिनहरूमा प्रविधिमाथि हाम्रो निर्भरता थप बढेर जाने कुरामा दुई मत छैन। हामीले गर्ने धेरै काम आज प्रविधिले नै गरिरहेका छन्। मानिस प्रविधिमा कुन हदसम्म निर्भर हुने भन्ने प्रश्न आफैंमा महत्त्वपूर्ण छ। यसैबीच आर्टिफिसियल इन्टेलिजेन्स विज्ञ क्याट्रिओना क्याम्पबेलले हालै एक पुस्तक सार्वजनिक गरेकी छन्।
पुस्तकमा उनले अबको ५० वर्षमा मानिसहरूले मेटाभर्समा नै बच्चा जन्माएर मेटाभर्समा नै हुर्काउने, बढाउनेछन् भनेर दाबी गरेकी छन्। क्याम्पबेलले आफ्नो पुस्तक ‘एआई बाई डिजाइनस अ प्लान फर लिभिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स’ मा भर्चुअल बच्चाको बारेमा उल्लेख गरेकी छन्। उनले आफ्नो किताबमा भर्चुअल बच्चालाई ‘तामागोची किड्स’ भनेर नाम दिइएकी छन्।
‘तामागोची’ जापानी शब्द हो, जसले डिजिटल खेलौनालाई संकेत गर्छ। क्याम्बेलले अबको ५० वर्षमा मानिसहरूले शारीरिक रूपमा बच्चा नपाई मेटाभर्समा बच्चा पाउने र मेटाभर्समै उक्त बच्चालाई हुर्काउने भविष्यवाणी गरेकी छन्। यसपछि केही महिलाहरूले कहिले पनि गर्भवती नहुने निर्णय गर्नसक्ने उनले उल्लेख गरेकी छन्।
मेटाभर्सको भर्चुअल बच्चाले पृथ्वीमा भएको वातावरणीय समस्या, जनसंख्या वृद्धि लगायतका समस्यालाई समाधान गर्ने बताउँदै उनले बच्चा जन्माएर हुर्काउन लाग्ने खर्च पनि कम हुने तर्क गरेकी छन्। जापानले सुरु गरेको डिजिटल खेलौना वा डिजिटल पेट (घरपालुवा जन्तु) पछि अब डिजिटल बच्चाको ट्रेन्ड सामान्य बन्दै जाने उनले बताएकी छन्।
उनले भर्चुअल बच्चा भौतिक बच्चाजस्तै हुने, आमाबाबुजस्तै देखिने र भर्चुअल माध्यमबाट अभिभावकले बोक्न, खेल्न र अंगालो हाल्न मिल्ने दाबी गरेकी छन्। ‘भर्चुअल बच्चाहरूमा पनि भौतिक बच्चाहरूको जस्तै मानवीय भावना हुन्छ भने उनीहरू बोल्न पनि सक्नेछन्,’ पुस्तकमा उनले लेखेकी छन्, ‘अभिभावकले उनीहरूलाई बोल्न सिकाउन सक्नेछन्। यदि बच्चा मन परेन भने अभिभावकले भर्चुअल बच्चालाई मेटाभर्समा ‘अफ’ गर्न सक्नेछन्।’ –टेकपानाबाट साभार