डेंगुबाट २० को मृत्यु : १८ दिनमा थपिए करिब १२ हजार सङ्क्रमित – Janadesh Daily | ePaper

डेंगुबाट २० को मृत्यु : १८ दिनमा थपिए करिब १२ हजार सङ्क्रमित


blog

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य प्रमुख डा.गोकर्ण दाहलका अनुसार डेंगुको सङ्कमणबाट २० जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार मृत्यु भएका ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।

दाहलका अनुसार, हालसम्म ७५ जिल्लाबाट १६ हजार ५८७ जनामा डेंगु पुष्टि भइसकेको छ । यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ । जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ । त्यस्तै, अगस्ट महिनामा तीन हजार ७०८ जनामा डेंगु पुष्टि भएको छ । सेप्टेम्बर महिना सुरु भएदेखि १८ दिनमा ११ हजार ९९४ जनामा डेंगु पुष्टि भएको पाइन्छ ।

सबैभन्दा बढी बागमतीमा

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४०१ जनामा पुष्टि भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ४२२, प्रदेश १ मा ५०४, सुदूरपश्चिममा ४९३, गण्डकीमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जनामा डेंगु पुष्टि भएको छ ।

देशका १० जिल्लामा सबैभन्दा बढी १४ हजार ६३ जनामा डेंगु पुष्टि भएको छ । जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुरमा चार हजार ६०४, काठमाडौंमा चार हजार ४५४, मकवानपुरमा एक हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा चितवन जिल्लामा पहिलो पटक डेंगुका बिरामी भेटिएका थिए । सो समय यता हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ । यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो । सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्