महामारीको रूप धारण गर्दै डेंगु, १९ दिनमा २० जनाको मृत्यु, यस्तो छ नेपालमा संक्रमण इतिहास – Janadesh Daily | ePaper

महामारीको रूप धारण गर्दै डेंगु, १९ दिनमा २० जनाको मृत्यु, यस्तो छ नेपालमा संक्रमण इतिहास


जनादेश वाच।
पछिल्लो १९ दिनमा नेपालमा डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ। हालसम्म ७५ जिल्लामा पुष्टि भएको डेंगु संक्रमितको संख्या १६ हजार ५८७ जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। पछिल्लो १८ दिनमा मात्रै १४ हजार ४०८ जना डेंगुबाट संक्रमित भएका छन्। यद्यपि धेरै व्यक्ति परीक्षणको पहुँचमा नरहेको र सरकारले पनि परीक्षणका लागि प्रोत्साहन नगरेका कारण सरकारी तथ्यांकमा देखिएभन्दा धेरै नै बढी संक्रमित समुदायमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी बताउँछन्।

सरकारी तथा निजी अस्पतालमा डेंगुका बिरामीको चाप बढ्दो छ। अस्पतालले छुट्टै डेंगु फिभर क्लिनिक सञ्चालन गरी उपचार गरिरहेका छन्। असार अन्तिमदेखि डेंगु संक्रमण निरन्तर उकालो लागिरेको छ। जुलाई महिनासम्म ७ सय जनामा मात्र डेंगु संक्रमण पुष्टि भएको थियो। सेप्टेम्बर महिनाको १८ दिनमा मात्रै १४ हजार ४०७ जनामा डेंगु पुष्टि भएको छ। महाशाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेंगुका संक्रमित फेला परेका छन्। बागमतीमा १२ हजार ४०१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यस्तै लुम्बिनीमा २ हजार ४२२, प्रदेश १ मा ५०४, सुदूरपश्चिममा ४९३, गण्डकीमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जनामा डेंगु पुष्टि भएको छ।

नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा एक विदेशी नागरिकमा डेंगु देखिएको थियो। त्यसपछि २००५ मा डेंगु पुष्टि नभएपनि त्यसपछिका प्रत्येक वर्ष डेंगु पुष्टि भएको छ। तर २०१९ मा महामारीको रुप लिएको डेंगुले फेरी २०२२ मा महामारीको स्वरुप लिएको छ। २०१९ मा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।

२००६ मा ३२ जना, २००७ मा २७ जना, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९ जना, २०१२ मा १८३ जना, २०१३ मा ६८६ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याँक छ। त्यस्तै २०१४ मा ३५६ जना, २०१५ मा १३५ जना, २०१६ मा १ हजार ५२७ जनामा डेंगु पुष्टि भयो। यसैगरी २०१७ मा २ हजार १११जना, २०१८ मा ८११ जनामा र २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो। २०१९ मा महामारीको रुप लिएर ६८ जिल्ला पुगेको डेंगु सुनसरीमा मात्र ३ हजार ४३१ भन्दा धेरैमा संक्रमण भएको थियो।

त्यस्तै २०२० मा ५३० जनामा, २०२१ मा ५४० जनामा डेंगु पुष्टि भयो। यस वर्ष २० जनाको मृत्यु समेत भएको छ। हाल महामारीको रुपमा देखिएको महामारी नियन्त्रणका लागि सरकारले काम गरिरहेपनि त्यो काम पर्याप्त नभएको विज्ञहरुले बताइरहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी सरकारले व्यवस्थित रुपमा काम गर्न नसकेको आरोप लगाउँछन्। डेंगु नियन्त्रणका लागि लागि बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको उनको ठहर छ। अझै दुई महिना डेंगुको जोखिम बढी छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रसहित अन्य क्षेत्रको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउँछन्। डेंगु नियन्त्रणका लागि सरकारी निकायसहित व्यक्तिगत भूमिका महत्वपूर्ण भएको उनी बताउँछन्। स्वास्थ्य तथा जनंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल जलवायु परिवर्तन तीव्र र अव्यवस्थित शहरीकरण, र जनसंख्या वृद्धिका कारण डेंगु तीव्र गतिमा बढेको र मानिसहरूको हेलचक्र्याँइका कारण नियन्त्रणमा लिन कठिन भएको बताउँछन्। डेंगुविरुद्ध लड्न बहुक्षेत्रीय संलग्नता आवश्यक भएको भन्दै सचिव पोखरेलले स्वास्थ्य मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै आएको दाबी गरे। लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगुको वृद्धि नियन्त्रण गर्नका लागि एउटा मात्रै संस्था, व्यक्तिले मात्रै नभई व्यक्तिगत तथा सामुदायिक प्रयास आवश्यक भएको सचिव पोखरेल बताउँछन्।

महाशाखा प्रमुख चुमनलाल दासले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि सरकारी प्रयास मात्रै भएर नपुग्ने बताए। डेंगु नियन्त्रणका लागि सरकारका साथै व्यक्ति, समुदाय र प्रमुख सरोकारवालाहरूको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए। महाशाखाले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला तथा स्थानीय तहको समन्वयमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ। सरकारले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रत्येक शनिबार बिहान १० बजे ‘१० मिनेट छुटाई घरभित्र र बाहिर पानी जम्ने ठाउँ, लामखुट्टेले फुल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्