जनादेश वाच।
डेंगी संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले यसलाई प्रकोप घोषणा गर्ने तयारी गरेको छ । तर, सरकारकै निष्क्रियताका कारण डेंगीले प्रकोपको रूप लिएको देखिन्छ । डेंगीको उपचारमा संलग्न विषेशज्ञहरू तथा जनस्वास्थ्यविद् पनि सरकारले डेंगी नियन्त्रणमा पर्याप्त प्रतिकार्य गर्न नसकेको आरोप लगाइरहेका छन् । त्यसो त समयमै नियन्त्रणको कदम नचालेको भन्दै सत्ता पक्षकै सांसद तथा नेताले पनि सरकारको आलोचना गर्दै आएका छन् ।
डेंगी संक्रमितको संख्या १९ हजार बढी, २४ जनाको मृत्यु
असार यता तीव्र रूपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा मात्रै डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ भने दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । काठमाडौंका प्रमुख अस्पतालहरूका इमर्जेन्सीमा एउटै बेडमा दुईदेखि तीन जनासम्म डेंगीका बिरामी राखेर उपचार गराइरहेका छन् ।
देशभरको तथ्यांक संकलन गर्ने हो भने संक्रमितको संख्या तीन गुणासम्म बढ्ने विज्ञहरू बताउँछन् । अहिले देखिएको तथ्यांकले देशभरीका संक्रमितलाई नसमेटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
“डेंगीको तथ्यांक संकलनमा पहिलेदेखि नै समस्या छ, हामीले रेकर्ड पठाउन इवार्स (इमर्जेन्सी वार्निङ एन्ड रिपोर्टिङ सिस्टम)लाई प्रयोग गर्ने गरेका छौँ । तर, यो सिस्टममा देशभरका ११८ वटा अस्पताल मात्रै समावेश छन् । कतिपय निजी अस्पताल र ल्याबमा भएका परीक्षणको रेकर्ड नै आउँदैन,” डा. दाहाल थप्छन् “त्यसैले अहिले बाहिर देखिएको तथ्यांक नै डेंगी संक्रमितको अन्तिम तथ्यांक हो भन्नसक्ने अवस्था छैन । यद्यपि, हामीले एकीकृत तथ्यांक राख्न सक्दो प्रयास गरिरहेका छौँ ।”
इवार्स सिस्टममा कतिपय ठूला अस्पतालहरूले पनि रेकर्ड इन्ट्री नगर्ने, समयमा रिपोर्टिङ नगर्नेजस्ता समस्याका कारण पनि एकीकृत तथ्यांक नआएको डा. दाहालको दाबी छ । संक्रमितको पहिचान र संक्रमण प्रभावित क्षेत्रहरूको सही पहिचान नहुँदा डेंगी नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । डेंगी संक्रमणले प्रकोपको रूप लिइसक्दा समेत सरकारले कुनै प्रतिकार्य नगर्नुले स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका विज्ञहरूलाई समेत हतोत्साहित बनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन आफ्नो लामो समयको कार्यानुभवमा महामारीका बेला सरकार यति निष्क्रिय भएको कहिल्यै नदेखेको बताउँछन् । डेंगी संक्रमण नियन्त्रणमा सरकार दुई महिना पछाडि परेको डा. पुनको अनुभवले देखाँउछ । अहिलेको अवस्थामा घर, विद्यालय, कार्यालय बजारलगायत भीडभाड हुने क्षेत्रमा लामखुट्टे निर्मूल अभियानमा नै जोड दिनु नियन्त्रणको एकमात्र उपाय बाँकी रहेको उनी बताँउछन् ।
पहिचान, ज्ञान र स्रोतसाधन भएर पनि सरकार संक्रमण नियन्त्रणमा असफल
एकपछि अर्को गर्दै संक्रामक रोगको महामारी बढ्दै गएको नेपालका लागि डेंगी भने नयाँ प्रकोप होइन । सन् २००४ यता बर्सेनि बढ्दै गएको डेंगी संंक्रमणले सन् २०१९ मा आइपुग्दा ६ जनाको ज्यानसमेत लिएको थियो । त्यसयता बर्सेनि आउटबे्रक हुँदै आएको छ । डेंगी प्रतिकार्यका लागि सरकारले कुनै तयारी नगरेको जनस्वास्थ्यविद्हरूको आरोप छ । जनस्वास्थ्यविद् डा. शरद वन्त सरकारसँग डेंगीबारे ज्ञान, पर्याप्त स्रोतसाधन र पहिचान क्षमता हुँदाहुँदै पनि लापर्बाही गर्दा डेंगी नियन्त्रण बाहिर गएको धारणा राख्छन् ।
“डेंगी नियन्त्रणमा सरकार र आमनागरिक दुवै पक्षको दायित्व बराबर हुन्छ । तर, नागरिकलाई सजग बनाउने वातावरण बनाउन सरकारले नै नेतृत्व लिनुपर्छ, तर त्यो भएको देखिँदैन,” डा. वन्त भन्छन् । अहिलेको अवस्था भनेको सरकारका सबै निकाय डेंगी नियन्त्रणमा केन्द्रित हुनपर्ने समय रहेको तर स्थानीय तहहरूले समेत डेंगी नियन्त्रणमा जिम्मेवार भूमिका नखेलेको डा. वन्त बताउँछन् ।