युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन्: अध्यक्ष दाहाल – Janadesh Daily | ePaper

युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन्: अध्यक्ष दाहाल


जनादेश, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताए।

अध्यक्ष दाहालले अहिले पनि नेकपा (माओवादी केन्द्र) मा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए। उनले शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव नभएको जिकिर गरे।

अध्यक्ष दाहालले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताए।

उनले भने, ‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन। युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन्। मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ। तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन। अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो। शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता। अहिले यसलाई टुंग्याउनको लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ हामी लागिरहेका छौँ। यो विभ्रम हामी दिमागबाट अटाइदिऔँ। युद्धले शान्ति ल्याएको छ नेपालमा। माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्