कतार विश्वकप फुटबल २०२२ विशेषः यस्ता छन् भब्य र सबैभन्दा ठूलो लुसेल स्टेडियमको विशेषता – Janadesh Daily | ePaper

कतार विश्वकप फुटबल २०२२ विशेषः यस्ता छन् भब्य र सबैभन्दा ठूलो लुसेल स्टेडियमको विशेषता


जनादेश अन्तर्राष्ट्रिय वाच।

फिफा विश्वकप फुटबल सुरु हुन अब २ महिनाभन्दा कम समय मात्र बाँकी छ । २२ औँ संस्करणको विश्वकप २० नोभेम्बर अर्थात मंसिर ४ गते सुरु हुने छ । यससँगै कतार राष्ट्रिय फुटबल टोलीले पनि विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदै छ । सन् २०१० मा कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाउँदा धेप्रश्न उठेका थिए ।

त्यतिबेला कतार पूर्वाधारमा निकै पछाडि थियो । तर, विश्वकप फुटबलको लागि नै भनेर कतारले १२ वर्षमा आमुल परिवर्तन गरेको छ । पुराना रंगशालाको मर्मत, पुनः डिजाइन तथा नयाँ रंगशाला बनाउने कार्यमा कतार यो बिचमा तीव्र गतिमा लागेको थियो । विश्वकपमा हुने ६४ खेलका लागि कतारले ८ वटा रंगशाला तयार पारेको छ ।

 अल थुमामा, कतार फाउन्डेशन, अल बेत, लुसेल, अहमद बीन अलि, अल जनुब, रास अबु अबुद र खलिफा इन्टनेशनल स्टेडियम विश्व कपमा प्रयोग हुनेछन् । कतारले घोषणा गरेका यी ८ स्थल १०० किलोमिटरको दूरी भित्र छन् । त्यसैले यो अहिले सम्मकै सबै भन्दा कम क्षेत्रफलमा आयोजना हुन लागेको विश्वकप बन्ने भएको छ । यी रंगशालामा ४० देखि ८० हजार दर्शक क्षमताका छन् । लुसेल स्टेडियम सबैभन्दा ठुलो र भव्य छ । लुसेल सहरको अल दायेन नगरपालिकामा अवस्थित यो रंगशालामा ८० हजार दर्शकले फूटबल हेर्न सक्छन् ।

लुसेल स्टेडियमको विशेषता
यसमा अत्याधुनिक प्रविधि र पूर्वाधार जडान गरिएको छ । यसको छानामा सौर्य पाता जडान गरिएको छ । तापक्रम अनुसार यसको छत खोल्न र बन्द गर्न मिल्ने सुविधा छ । तातो हावा चल्ने भएकाले यहाँ चिसो बनाउने प्रविधि पनि छ । यस स्टेडियमको कालीगढी साउदी अरेबियाको प्रसिद्ध लालटिन ‘फनार’ बाट प्रेरित छ । फलस्वरुप स्टेडियममा बत्ती र छायाँको राम्रो संयोजन देख्न पाइन्छ ।आकार र बुट्टाले अरब क्षेत्रमा भाँडा तथा कचौरामा बनाइने सजावटी आकृति पनि झल्काउँछ । यसमा अरबको शिल्प कौशल मूर्त रूपले झल्किएको छ । यसमा यस्तै आकारको अन्य भवन बनाउँदा प्रयोग हुने पानीको कुल मात्राभन्दा ४० प्रतिशत बढी पानी प्रयोग भएको छ । अत्याधिक मात्राको पानीलाई स्टेडियम वरिपरिका बोटबिरुवालाई चाहिने सिंचाईको रुपमा प्रयोग गरिएको हो ।

पोलीटेट्राफ्लोरोइथाइलिन प्रयोग गरी बनाइएको यसको छतले तातो हावालाई बाहिर राखि धुलो र हुरीबाट भित्री भागलाई बचाउँछ । मैदानको घाँसलाई उमार्न सहज बनाउनको निम्ति यस छतले एकातिर प्रकाश दिन्छ भने अर्कातिर छायाँ पनि दिन्छ । दोहाबाट १५ किलोमिटर उत्तर तर्फ रहेको छ यस रंगशालामा पुग्न समर्थकलाई निकै सहज छ । विश्वकप पछि यो रंगशालालाई सामुदायिक हबको रुपमा प्रयोग गर्ने उदेश्य छ । विश्वकपका ६४ मध्ये १० खेल लुसेलमा आयोजना हुनेछन् । सन् २०२२, १८ डिसेम्बरमा प्रतियोगिताको फाइनल पनि लुसेलमा नै हुनेछ ।

लुसेलमा आयोजना हुने खेलहरुः
२२ नोभेम्बरमा अर्जेन्टिना र साउदी अरेबिया
२४ नोभेम्बरमा ब्राजिल र सर्बिया
२६ नोभेम्बरमा अर्जेन्टिना र मेक्सिको
२८ नोभेम्बरमा पोर्चुगल र उरुग्वे
३० नोभेम्बरमा साउदी अरेबिया र मेक्सिको
२ डिसेम्बरमा क्यामेरुन र ब्राजिल
६ डिसेम्बरमा ‘राउन्ड अफ १६’ समुह एचको विजेता र समुह जीको उपविजेता
९ डिसेम्बरमा क्वार्टरफाइनलमा ४९ औँ खेलको विजेता र ५० औँ खेलको विजेता
१३ डिसेम्बरमा सेमिफाइनलमा ५७ औँ खेलको विजेता र ५८ औँ खेलको विजेता
१८ डिसेम्बरमा फाइनल ६१ औँ खेलको विजेता र ६२ औँ खेलको विजेता

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्